Logo

चालकले हात धुन आनाकानी गर्दा ट्रकमा फेला प¥यो भारतीय रुपियाँ



काठमाडौँ, २४ वैशाख । चालक र सहचालकले हात धुन आनाकानी गरेपछि भारतीय ट्रकमा लुकाएर ल्याएको एक करोड ९ लाख ६९ हजार भारतीय रुपियाँ विराटनगरमा नियन्त्रणमा परेको छ ।

भारत वेष्ट बंगालकोे डब्लुबी ७३ ई ७६३५ नम्बरको मालवहाक सवारीका चालक रविकुमार र सहचालक पप्पुकुमारले विराटनगर आईसीपी प्रवेशपछि हातधुन आनाकानी गरेपछि शंका लागेर गरिएको चेकजाँचका क्रममा भारतीय रुपियाँ बरामद भएको हो । ट्रान्स नेपालका अध्यक्ष गणेश घिमिरेका अनुसार पछिल्लो १५ दिनदेखि आईसीपी परिसरमा सबै मालवहाक सवारीको निसंक्रमण अनिवार्य गरिएको छ । त्यस बाहेक चालक दलमा रहेका सदस्यले अनिवार्य साबुन पानीले हात धोएपछि हात र खुट्टा निसंक्रमण गर्नुपर्ने नियम छ ।

तर, मंगलबार दिउँसो आईसीपी परिसरमा प्रवेश गरेपछि उक्त मालवहाक सवारीका चालक र सहचालक गाडी छोडेर हातधुन निस्किन मानेनन्, घिमिरेले भने–त्यसपछि शंका लागेर सशस्त्रले चेकजाँच गरेको थियो । आईसीपी परिसरमा रहेको सशस्त्र प्रहरीको चेकपोष्टले गाडीलाई चेकजाँच गरेको हो । चालकदलले अन्य व्यक्ति ल्याएको हुनसक्ने आशंकामा क्याबिन चेकजाँच गर्दा सामान भरिएको कार्टुन भेटियो, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले भन्नुभयो–सामानसहित दुवैजनालाई चेकपोष्टमा ल्याएर खोल्दा भारतीय रुपियाँ फेला प¥यो ।

भारतबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारीको निसंक्रमणसँगै चालक र सहचालकलाई अनिवार्य हात धुनुपर्ने नियम छ । साविक रानीको पुरानो भन्सार हुँदै नेपाल प्रवेश गर्ने खाली ट्रकलाई पछिल्लो १५ दिनदेखि नै आईसीपी हुँदै प्रवेश गराइएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार कोरोना संक्रमण भित्रनबाट रोक्नका लागि साविक रानी भन्सारबाट आउजाउ गर्ने मालवहाक सवारीलाई आईसीपी परिसरबाटै प्रवेश अनुमति दिइएको थियो । नेपालबाट निकासी हुने वस्तु लिएर भारत जानका लागि आएको सवारी यहाँ भन्दा अघिल्लो पटक कहिले आएर फर्केको थियो र कसको मालवस्तु लान आएको थियो भन्ने कुरा खुलिनसकेको भन्सार प्रमुख भण्डारीले बताएका छन् । सशस्त्र प्रहरीले चालक र सहचालकसँग बयान लिने कामसँगै एक्काईस हजार ९५५ थान पाँच सय भारतीय रुपियाँको नोटको नम्बर यकिन गरिरहेको एसपी कार्कीले जानकारी दिएका छन् । नोट नम्बर यकिन भएसँगै राजश्व अनुसन्धानले विदेशी मुद्रा अपचलनमा अनुसन्धान र कारवाही अगाडि बढाउने छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्