Logo

एक पद छोड्नैपर्ने भए ओलीले के छोड्लान् ?



काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘एक व्यक्ति, एक पद’ को कुरा उठ्न थालेको छ । स्थायी कमिटीको पूर्वसन्ध्यामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहले यो कुरा जोडदारसँग उठाईरहेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच एकजनाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टी चलाउनेबारे गत मंसिर ४ गते नै भद्र सहमति भएको थियो ।

तर, ओलीले दाहाललाई पार्टीको काममा अंकुश लगाएपछि विवाद झनै बढेको थियो । अध्यादेश प्रकरणपछि नेकपाभित्र ओलीविरोधी मोर्चा सशक्त बन्दै आएको छ । अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलीले यसको जवाफ स्थायी कमिटी बैठकमा दिनुपर्ने माग गरिएको छ । अध्यादेश जारी हुनेबित्तिकै यो गलत छ भन्दै फिर्ता लिनुपर्ने मागसहित दाहाल नेपाल समूहका २० जना स्थायी कमिटीले लिखित रुपमा बैठकको माग गरेका थिए ।

सरकारले अहिले अध्यादेश फिर्ता लिईसकेको छ । यो फिर्ता भएसँगै अब यसको च्याप्टर क्लो भयो भनेर महासचिव विष्णु पौडेलले पनि दाबी गरेका छन् । तर, २० जना स्थायी कमिटी सदस्यहरु भने भोलिबाट सुरु हुने बैठकमा अध्यादेश प्रकरणबारे पनि प्रधानमन्त्रीसँग जवाफ माग्ने पक्षमा छन् । त्यसको लागि उनीहरुले हिजो र आज सामूहिक छलफल गरेर रणनीति पनि तय गरिसकेका छन् ।

केपी ओलीले कुनैपनि हालतमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने भनेर महासचिव पौडेलले पत्रकार ऋषि धमलासँगको हालैको अन्तर्वार्तामा दाबी गरेका छन् । उनले ओली कुनैपनि मोर्चामा अल्पमतमा नरहेको पनि उनको जिकिर थियो । उनले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको प्रसंग नै नउठ्ने दाबी गरिसकेका छन् । तर, दाहाल नेपाल समूह ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्छ भन्ने अडानमा छन् । यसले पनि नेकपाको स्थायी कमिटी बैठकमा रस्साकस्सी पर्ने निश्चित छ ।

स्थायी कमिटीमा ओली पुरै अल्पमतमा छन् । पछिल्लो समय एक व्यक्ति, एक पदमा जानुपर्ने भए के गर्ने भन्नेबारे बालुवाटारले पनि छलफल थालेको छ । यो बीचमा ओलीले अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय नेपाल र खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा ओलीले आफूविरुद्ध फेरि मोर्चाबन्दी गरिएको भन्दै खनालसँग गुनासो पोखेका थिए ।

तर, खनालले पार्टी निर्णयलाई सर्वोपरि ठानेर अघि बढ्दा नै बुद्धिमानी हुने सुझाव दिएको धमलालाई बताएका थिए । ओलीले कुनैपनि हालतमा दुवै पद नछोड्ने भनेर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । उनले पार्टीमा ओलीको विकल्प खोजिए मुलुक दुर्घट्नामा पर्ने चेतावनी दिएका छन् ।

यदि एक व्यक्ति, एक पदमा अघि बढ्नुपर्ने भए केपी ओलीले के गर्ने ? भन्नेबारे पनि आफूनिकटका नेताहरुसँग छलफल थालेका छन् । उनले छोड्नैपरे आफू प्रधानमन्त्री छोड्ने तर पार्टी अध्यक्ष कुनैपनि हालतमा नछोड्ने तयारी गरेको पनि स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्