Logo

प्रदेश २ मा लकडाउन खुकुलो हुँदैन- लालबाबु राउत, मुख्यमन्त्री 



काठमाडौं, २६ वैशाख । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको रोकथामका लागि गम्भीर भएको बताएका छन् । उनले लकडाउन खुकुलो नहुने स्पष्ट पार्दै महामारी फैलन नदिन सबै आवश्यक उपाय अबलम्बन गरिने बताए । मुख्यमन्त्री राउतसँग यीनै विषयमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
वीरगञ्ज त कोरोनाको इपिसेन्टर बन्यो नि ! तपाईंहरुले रोकथामको लागि किन ध्यान दिनुभएन ?
हामीले ध्यान दिएकै हो ।
तपाईंले कोरोना अस्पताल बनाउन ध्यान दिनुभएन रे ? जताततै आलोचना भएको छ नि ?
प्रदेश नं. २ को जहाँ अस्पताल छ, त्यसैलाई कोरोना अस्पाल घोषणा गरिएको छ । महोत्तरीको जलेश्वर र बाराको कलैयामा कोरोना अस्पताल बनाउने घोषणा गरिएको छ । त्यहाँ साधन, सुविधा पनि दिइएको छ ।
सर्वसाधारणका सबैखाले उपचार गर्नुपर्ने नारायणी अस्पताललाई कोरोना अस्पताल बनाउनुभयो नि ?
अहिले पनि नारायणी उपक्षेत्रीय अस्पाल संघीय सरकारको मातहतमा छ । संघीय सरकारले नै हामीसँग सल्लाह नगरिकन कोरोना अस्पताल भनेर घोषणा ग¥यो । त्यसप्रति सुरुदेखि नै मेरो आपत्ति रहेको छ । मैले हिजो मात्रै पनि माननीय मन्त्रीज्यूसँग कुरा गरेको छु । महोत्तरीसम्मका जनताको विश्वास अस्पताल थियो भने त्यो हो नारायणी अस्पताल । यी क्षेत्रका जति पनि सर्वसाधारणका सबैखाले उपचार गर्ने अस्पताल पनि त्यही हो । सरकार अस्पताललाई कोरोना अस्पताल बनाएर सर्वसाधारणको लागि प्राइभेट अस्पतालको भर पर्नु भनेको यो क्षेत्रका सर्वसाधारणको हितविपरित कुरा हो ।
वीरगञ्ज उपमहानगरपालिका मेयरले त प्रदेश मुख्यमन्त्रीले सहयोग गर्नुभएन भन्नुभयो नि ?
कसले के भन्यो त्यतातिर म जान चाहन्न । र, त्यसमा मेरो कुनै प्रतिक्रिया पनि छैन । संघीय सरकारलाई सोध्नुहोस् अहिले पीसीआर मेसिन आइरहेको छ । त्यो ल्याउन मेरो भूमिका कति रहेको छ ? त्यसैले कसले के भन्यो त्यसको पछि लाग्न चाहन्न ।
तपाईंहरुको हानथापले त वीरगञ्जमा कोरोनाको महामारी फैलिन आँटिसक्यो नि ?
हिजो मात्रै मैले नारायणी अस्पतालका डाक्टर भनेँ, ‘तपाईंलाई कति पैसा चाहिन्छ ?’ उपचारको लागि जति पनि स्वास्थ्य सामाग्रीहरु चाहिन्छ । त्यो किन्नको लागि बिलिङ पनि गरिसकेका छौं पीसीआर खरिदको लागि । हामीसँग पैसा हुँदाहुँदै पनि सामान लोकल मार्केटमा पाइँदैन । यी सामानहरु संघीय सरकारले उपलब्ध गराउने हो । म कसैलाई आरोप प्रत्यारोप लगाउन चाहन्न ।
नारायणीलाई जनताको अस्पताललाई बनाएर कोरोनाको छुट्टै अस्पताल किन बनाउनुभएन ?
अघिदेखि म पटक–पटक भनिरहेको छु कि त्यो अस्पताल अहिले पनि संघीय सरकारको मातहतमा छ । उसको मातहतमा भएकाले संघीय सरकारले नै त्यसलाई कोरोना अस्पताल भनेर घोषणा गरेको छ । मैले माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कुरा गर्दा हामी घोषणा गर्दा सरकारी अस्पताललाई नै गर्छौं भन्नुभयो । मैले त्यतिबेला भनेँ, ‘सर्वसाधारण त्यो अस्पतालले जुन सेवा दिइराखेको त्यति अरु स्पतालले दिन सक्दैन’ भनेर अनुरोध पनि गरेँ ।
नारायणी अस्पताललाई कोरोना अस्पताल बनाएपछि त सर्वसाधारणले अन्य उपचार पाएनन् नि ?
त्यसको बारेमा मैले हिजो मात्रै कुरा गरेको छु । सर्वसाधारणले निजी अस्पतालमा कसरी उपचार गर्छन् भनेर । यसको विकल्प खोजौं भनेर हिजो मात्रै भनेको छु । जसरी विरगञ्ज उपक्षेत्रीय अस्पताललाई कोरोना अस्पताल बनाइएको छ । त्यसको विकाल्प हुनुपर्छ यो मेरो सुरुदेखिको माग हो । हुन त जनकपुर र राजविराजलाई पनि घोषणा गरेको छ ।
अर्को प्रदेश नं. २ का जनताले खान नपाएर भोकभोकै बस्नुपर्ने अवस्था छ नि ?
यो नै पहिलो प्रदेश होला । जहाँ २ अर्ब रुपैयाँ कोरोना भाइरसको कारण खर्च गरेको छ । लोन माफ गर्नेमा होस्, दुई, दुईपटकको राहत वितरणमा होस्, चाहे जनचेतनामुलक कार्यक्रममा होस् । विभिन्न जिल्ला–जिल्लामा त्यहाँ अधिकारी मातहतमा ५०, ५० लाख रुपैया विपद् व्यवस्थापनका लागि दिनेदेखि लिएर विभिन्न सेक्टरमा सुरक्षा निकायको पैसा तिर्नेदेखि लिएर होस् । नारायणी अस्पतालका लागि १० वटा, जनकपुर अस्पतालका लागि १० वटा र अन्यका लागि ५, ५ वटा भ्यान्टिलेटर खरिदको कुरा होस् । यसरी विभिन्न सेक्टर, सेक्टरको लागि प्रदेश सरकार तयारी गरेर अगाडि बढेको छ । जहाँसम्म खाद्यन्नको कुरा त्यसमा हामीले पठाएको पैसा पनि सम्बन्धित वर्ग र समुदायमा सन्तोषजनक ढंगले वितरण भएन । त्यसैले अब सम्बन्धित क्षेत्रको गोदाम वा पसलबाट प्रमुख जिल्ला खधिकारीको मातहतमा रहेको विपत व्यवस्थापन मार्फत दिने गरी अगाडि बढेका छौं ।
अब त्यहाँका जनताले भोकभोकै मर्नुपर्दैन हो ?
अन्य प्रदेशको तुलनामा २ नम्बर प्रदेश अहिले पनि खाद्यन्नको हिसाबले सहज छ । त्यसैले यहाँका जनता भोकभोकै मर्नुपर्दैन । प्रदेश सरकार त्यसको ग्यारेन्टी गर्छ ।
लकडाउन खुकुलो पार्दै हुनुहुन्छ होइन ?
म त्यो पक्षमा छैन । प्रदेश नं. २ मा अहिले पनि हामी सिरियस भएर जानुपर्ने अवस्था छ । अहिलेकै अवस्थालाई हेर्ने हो भने पनि एकै परिवारबाट १७ जनालाई संक्रमित बनाएको छ । सबैमा भारतको बोर्डर छ । भारतमा फैलिरहेको छ । परीक्षण गर्ने सामाग्री नभएर अहिले पनि बजारमा कति जनामा छ केही थाहा छैन । सीपीआर मेसिनको अभावले त्यो स्वाव टेष्ट गर्न ढिला भइरहेको छ । दुर्भाग्य छ, कर्णालीमा २, २ वटा पीसीआर मेसिन हुने हाम्रो यत्रो जनसंख्या भएको ठाउँमा एउटा मात्रै छ । यो विषयमा मैले माननीय उपप्रधानमन्त्रीज्यूलाई पनि पटक–पटक भनिरहेको छु ।
आजबाट लकडाउन खुकुलो हुन्छ कि हुँदैन ?
खुकुलोको कुराभन्दा पनि सम्बेदनशीलतालाई ध्यान दिनुपर्यो । हो, धेरै उद्योगधन्दा, खेती किसानी कामहरु छन् त्यसमा सोसियल डिस्टेन्स कायम गरेर सुचारु हुनुपर्छ । तर, ठूलो चुनौति छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्