Logo

विद्यार्थी परिषद्द्वारा सरकारसमक्ष विशेष आर्थिक प्रतिवेदन पेश



मोहन श्रेष्ठ/काठमाडौँ, २६ बैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्ष आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तयार भइरहेको बजेटमा सुधार ल्याउन महत्वपूर्ण विषयहरूलाई समावेश गरी विशेष आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश गरेको छ ।

महत्वपूर्ण नीतिहरू तयार गर्नका लागि आर्थिक क्षेत्रका विज्ञहरूको एक टोली निर्माण गरी आर्थिक, कृषि, उद्यमशीलता, व्यापार, रोजगारी, प्रशासन, बैंकिग एवं वित्तीयक्षेत्र, उद्योग आदि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने र सुधार ल्याउनु पर्ने महत्वपूर्ण विषयहरूलाई समावेश गरी विशेष आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश गरेका छन् । विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष केशवराज पन्थीको संयोजकत्वमा तयार ५ सदस्यीय अर्थ समितिमा प्राध्यापक भेषराज धमला, प्राध्यापक दयाराम पौडेल, उप–प्राध्यापक अच्युत पन्त एवं परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टको सहभागिता रहेको थियो ।

उक्त टोलीले विगत केही समयदेखि देशको आर्थिक विकास, कृषिक्षेत्रमा देखिएका सुधार र नीति, रोजगारी, उत्पादनमा वृद्धि, आयात र निर्यातका लागि आवश्यक नीति आदि विषयमा ४६ बुँदे प्रतिवेदन तयार गरी सुझावस्वरूप अर्थ मन्त्रालयसमक्ष प्रस्तुत गरेको छ ।
परिषद्ले शिक्षा, स्वाध्याय मण्डल आर्थिक लगायत विविध क्षेत्रका बारेमा समय समयमा नेपाल सरकारलाई सुझाव दिँदै आएको छ । कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त भइरहेको र यसको प्रभाव नेपालमा पनि परेको वर्तमान सन्दर्भमा नेपाल सरकारले ल्याउन लागेको आगामी २०७७/०७८ सालको बजेट प्रति परिषद्को ध्यानाकर्षण भएको जनाउँदै बजेट निर्माणको चरणमा रहेको अर्थमन्त्रालयलाई आगामी बजेटका लागि सुझाव प्रस्तुत गरेका परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

उक्त सुझाव पत्रमा अनुसन्धानमुखी कार्यमा विशेष जोड, कृषिमा अनुदान तथा सहुलियत ऋण, आर्थिक चुहावट रोकथाममा लागि विशेष नीति, गरीबवर्ग र कृषकका लागि कृषि क्षेत्रमा विशेष सुविधा एवं आरक्षण, पहाडी तथा हिमाली भेगमा पशुपालन, जडिबुटी, फलफूल, माहुरीपालन र हावापानी अनुसारको कृषिकर्मको लागि युवाहरूलाई प्रोत्साहन गरिनुपर्ने, प्रमुख पेट्रोलियम प्रतिस्थापन गर्न विद्युत् उत्पादन द्रुत गतिमा अगाडि बढाउने/नीजी क्षेत्रका विद्युत् उत्पादनको बजार सुनिश्चित गरिनुपर्ने संसद् विकास कोषलाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लगाउनु पर्ने लगायतका अन्य महत्वपूर्ण विषयहरू समावेश गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्