Logo

कोभिड-१९ सँगै मनोसामाजिक परामर्श पनि जरूरी



मधु धमला क्षेत्री/कृष्णबहादुर पौडेल/सुजन श्रेष्ठ: हाल विश्वभरि फैलिरहेको कोभिड–१९ को प्रभाव नेपालमापनि देखिएको छ । पछिल्लो अवस्थामा कोभिड–१९ का संक्रमितहरुको संख्या नेपालमापनि बढिरहेको छ । आजको तथ्यांक हेर्दा हालसम्म १९१ जना कोरोनाबाट संक्रमित भएका छन् । आजमात्रै ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना नियन्त्रणको लागि एकमात्र विकल्प भनेको भ्याक्सिन नै हो । तर, हालसम्म पनि भ्याक्सिन पत्ता लाग्न सकेको छैन् । नेपाल सरकार कोभिड–१९ नियन्त्रणको लागि हरसम्भब लागिरहेको छ । देशभरिका स्वास्थ्यकर्मीहरु यतिवेला आफ्नो घरपरिवारसँग अलग बसेर २४सै घण्टा जनताको स्वास्थ्यमा खटिएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आगामी जेठ ५ गतेसम्म लकडाउन कायम गरेको छ । सरकारले बेलैमा लकडाउन लगाएकै कारण आज देशमा कोरोना नियन्त्रणका हामीलाई सफलता प्राप्त भएको छ । यो अत्यन्तै सराहनीय काम हो । तर, दुःखका साथ भन्नुपर्छ शहरी क्षेत्रमा जसरी ग्रामिण क्षेत्रमा लकडाउनको पालना भएको पाईँदैन् ।

विश्वभरि कोरोना नियन्त्रणको लागि लकडाउनलाई नै मुख्य हतियार बनाईएको छ र यसलाई कडाईका साथ लागु गरिएको छ । कोभिड–१९ ले नेपालका प्रायः सबै क्षेत्र ध्वस्त भएका छन् । तर, मुख्य प्रभाव भने स्वास्थ्य क्षेत्रमा नै परेको देखिन्छ । कोरोनाको महामारीसँग मनोसामाजिक महामारी हुने खतरापनि देखिईसकेको छ । विद्यार्थीहरुको पढाई, बेरोजगारीको समस्या, खानाको समस्या, विदेशबाट नेपाल आउन चाहेका तर आउन नपाएका नेपालीहरुको समस्या, व्यापार तथा व्यवसायमा परेको समस्या, आम मानिसहरु घरभित्रै कैद हुनु परेको अवस्था र कोभिड–१९ ले मरिने हो कि भन्न डर, त्रास र चिन्ताले आम मानिसमा यी समस्या विकराल रुपमा अघि आईरहेका छन् । कोभिड १९ त ढिलो या छिटो हल होला तर मानसिक समस्याले विकराल र भयावह रुप लियो भने स्वस्थ समाज र देश बन्न निकै अप्ठ्यारो पर्ने देखिन्छ ।

यो खतरालाई मध्येनजर गर्दै क्वारेन्टिनमा बस्नेदेखि सबैलाई स्वास्थ्य चौकीस्तरबाट मनोपरामर्श दिनुपर्ने देखिएको छ। साथै, मिडियामार्फत मनोपरामर्श सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । जब व्यक्तिको सोचाई, मन, मस्तिष्क स्वस्थ हुन्छ । र, डर, त्रास र तनाव हुँदैन तबमात्रै स्वस्थ समाज र देश बन्न सक्छ । लकडाउनले गर्दा नियमित औषधी खानुपर्ने मुटुरोगी, क्यान्सर, मिर्गौला, मधुमेह, उच्च रक्तचाप र दमका बिरामीहरुको जीवन पनि निकै कष्टकर भइरहेको छ । उहाँहरुको नियमित खानुपर्ने औषधी गाउँपालिका, नगरपालिकास्तरबाट व्यवस्था गर्नुपर्ने देखिन्छ । जुन धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले सुरु गरिसकेको छ ।

विदेशमा भएका नेपालीहरु जो नेपाल आउन चाहनुहुन्छ, उहाँहरुलाई नेपाल ल्याउनुपर्ने देखिन्छ । तर, अहिलेकै अवस्थामा उहाँहरुलाई स्वदेश ल्याउन निकै कठिन छ । विदेशलगायत नेपालमा पनि जीवनयापन गर्न निकै कष्टकर बनिसकेको छ । आम व्यक्तिलाई जीवन जिउन जति कष्ट हुन्छ, त्यतिनै उसमा मानसिक समस्या बढ्दै जान्छ । पछिल्लो समय, आत्महत्याको समस्यापनि बढ्न थालेका छन् । यसप्रति पनि बेलैमा ध्यान दिएर मनोसामाजिक परामर्श कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । होईन भने, आत्महत्यादेखि लिएर अन्य मानसिक समस्याले भयावह रुप लिने देखिन्छ । सरकार र निजी क्षेत्र दुवैले बेलैमा यसतर्फ ध्यान पुर्याएर उचित कार्यक्रमहरु ल्याउन् ।

(लेखक तीनै जना धादिङका अगुवा स्वास्थ्यकर्मीहरु हुुनुहुन्छ । उहाँहरु कोभिड १९ विरुद्धको अभियामा अग्रभागमा रहेर सुरुदेखि नै खटिरहनुभएको छ ।)



प्रतिक्रिया दिनुहोस्