Logo

न्यूजील्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्, लकडाउन खुकुलो हुने



३१ वैशाख । न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताउनुभयो ।

न्यूजील्यान्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन् । तर सामाजिक दूरीका नियमहरु भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ ।

सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताउनुभयो ।

यसैबीच, दक्षिण कोरियाले कोरोनाभाइरसबाट नयाँ संक्रमित भेटिएको जनाउँदै सामाजिक दूरी सम्बन्धी हालको व्यवस्थालाई तत्काल खुकुलो पार्ने कुनै योजना नरहेको जनाएको छ ।

उपस्वास्थ्य मन्त्री किम गाङ–लिपले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक देखिएको कोरोना संक्रमणको विस्तृत अध्ययन गरेपछि मात्र उपयुक्त निर्णय लिइने स्पष्ट गर्नुभयो ।

कोरियामा प्रतिदिन ३० जनामा कोरोना देखिए पनि पछिल्ला दिनहरुमा यो १० जनाभन्दा कममा आइपुगेको थियो । यहीकारण विद्यालयहरु पुनः खोल्न ढिलाई गरिएको छ भने राजधानी सियोल वरपरका रात्रिक्लबहरु अस्थायी रुपमा बन्द गरिएका छन् ।

कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बुधबार दक्षिण कोरियामा २६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरियामा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १० हजार ९६२ पुगेको छ भने २५९ जनाको मृत्यु भएको छ ।

उता चीनमा बुधबार सात जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये उत्तरपूर्वी जिलिन प्रान्तका छ जना रहेका छन् । नयाँ संक्रमित देखिएसँगै जिलिनका अधिकारीहरुले कोरोना देखिएको क्षेत्रसँग अरु भाग जोड्ने रेलसेवा बन्द गरिएको जनाएका छन् ।

चीनमा पछिल्लो विवरणसँगै कूल संक्रमितको संख्या ८२ हजार ९२६ पुगेको र ४ हजार ६३३ जनाको ज्यान गएको छ । तर अधिकाँश संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

मंगलबार चिनियाँ संचार माध्यमहरुले सर्वप्रथम कोरोनाभाइरस देखिएको उहानका सबै बासिन्दाको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको बताएका छन् । मध्य चीनको औद्योगिक शहर उहानमा करिब १ करोड १० लाख मानिसको बसोबास छ । रासस



प्रतिक्रिया दिनुहोस्