Logo

नीति तथा कार्यक्रम : पर्यटन पुनरुत्थान र दिगो पर्यटन सरकारको प्राथमिकतामा



काठमाण्ड २ जेठ ।सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थानको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनमा संयुक्तरुपमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रममा पर्यटन पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको हो ।

पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणले समेत पर्यटन क्षेत्रमा पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिनेछ । निरन्तरको पर्यटन आगमन वृद्धि भई ११ लाख नाघेको र सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य कोभिड–१९ का कारण स्थगित गर्न बाध्य भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० वर्षपछि धावनमार्ग पुनःनिर्माण गरिएको छ । आगामी वर्ष यस अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णत बुटिक विमानस्थलमा रुपान्तरण गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण शुरु गरिने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माणकार्य शुरु गरिने भएको छ । राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ गरिने उल्लेख छ ।

निजगढ विमानस्थलका लागि लगानी बोर्डले स्वीट्जरल्याण्डको ज्यूरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनोट गरी विस्तृत परियोजना प्रस्ताव मागिसकेको छ । यो विमानस्थल निर्माणका लागि तीन अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको प्राधिकरणले जनाएको छ । कूल आठ हजार हेक्टर क्षेत्रफलमा निर्माण हुने सो विमानस्थलको तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निमार्ण गरिनेछ । यो विमानस्थलले वार्षिक छ करोड यात्रुको चाप धान्ने बताइन्छ । हाल विमानस्थलको चारकिल्ला घेर्ने र मुआब्जा वितरणको काम भइरहेको छ भने विमानस्थलको पहुँचमार्ग निर्माण तथा रुख कटानको प्रक्रिया पनि प्रारम्भिक चरणमा अघि बढेको नियामक निकायले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा ल्याइने

भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल निर्माणको हालको भौतिक प्रगति ९० प्रतिशत हाराहारी छ । जम्मा ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल निर्माणका लागि चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी झण्डै रु सात अर्ब ३२ करोड खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनको पूर्वतयारी गरिनेछ । सन् २०२१ जुलाई महिनाअघिबाटै यो विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

मुलुकमा थप आठ आन्तरिक विमानस्थलका धावनमार्ग कालोपत्र गरिएको छ । हालसम्म आठ विमानस्थलबाट रात्रिकालीन विमान उडान शुरु भएको छ भने आगामी आर्थिक वर्ष थप दुई आन्तरिक विमानस्थलको निर्माण सम्पन्न गरिनेछ । तीन विमानस्थलको धावनमार्ग कालोपत्र गरिनेछ । तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइनेछ ।

सम्भाव्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टका पूर्वाधार विकास गर्न प्रोत्साहित गरिनेछ । पर्यटकीय होटल तथा रिसोर्टसँग अग्रसम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा जैविक कृषि उत्पादनका ठूला फार्म सञ्चालनमा प्रोत्साहित गरिनेछ ।

हवाई उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायकका कार्यलाई छुट्टाछुट्टै संस्थापक व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ । त्यस्तै लुम्बिनीमा निर्माणाधीन पाँच हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभाहल निर्माण गरी सञ्चालनमा गरिनेछ । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयमा ल्याइनुका साथै रामग्राम गुरुयोजना कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ । नेपालको भाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको सम्रक्षण र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।रासस



प्रतिक्रिया दिनुहोस्