Logo

लकडाउनमा मदिरा र हिंसा: पिउँदै पत्नी कुट्दै



बाजुरा । बुढीनन्दा नगरपालिका कुरु स्थाई घर भएका पाना नेपाली अहिले जिल्ला सदरमुकाम मार्तडीमा सिलाइकटाइको काम गर्छिन् । सिलाईकटाई गरेरै उनी ५ जनाको परिवार पाल्छिन् । उनीमात्र होइन, उनको श्रीमान भीम नेपाली पनि रातदिन नभनी सिलाईमै व्यस्त देखिन्छन् ।

जब चीनको वुहानबाट कोरोनाभाइरस कोभिड–१९ फैलिदै नेपालसम्म पुग्यो अनि नेपाल सरकारले पुरै देशलाई २०७६ चैत्रको ११ गतेदेखि लकडाउन वा बन्दाबन्दी गर्यो । पानाको परिवारमा कलह सुरु भएको हो । आजसम्म कहल सुरु भएको ३ महिना पुग्न लाग्यो । श्रीमान जम्मा गरेको पैसाले रक्सी खान्छन्, छोराछोरी हातहातमा खेल खेल्न मोबाईल खोसाखोस गर्दै झगडा गर्छन् ।

उनी भन्छन्, ‘मेरो श्रीमान माओवादीको पूर्वलडाकु थिए, जंगलमा थिए, कहिलै भेट भएको हुँदैन थियो, मानसिक रुपमा तनावमा भएपनि शारिरीक रुपमा सन्तुष्ट थिएँ, यो लडाउनमा त कुन दिन को मर्छ मेरो घरमा थाहा छैन ।’ एक सेकेन्डमा पनि रक्सी विना श्रीमान टिक्न सक्दैनन् ।

उनले भनिन् ‘काम गर्न मिल्दैन । पसलको ढोका बन्द गर्नुपर्छ ।’ उनले थपिन् ‘अहिलेभन्दा संकटकालमा चाही म सुरक्षित थिएँ । त्यतिबेला कोहीकतै लुकीलुकी बाच्ने गरेका थियौँ । अरुबेला खल्तीमा भएको पैसाले कतै बालबच्चालाई कापीकलम लुगाकपडा किन्नुपर्दथ्यो । त्यो सबै पैसा अहिले मदिरामा गएको छ । फुर्सद छ मदिरा खाएर मलाई पिट्ने, गाली गर्नु र छोराछोरीलाई तनावबाहेक मेरो श्रीमानको अरु केही काम छैन । घरबाहिर जाउँ लकडाउन छ ।’

रक्सी खाए राक्षस
बडीमालिका नगरपालिका मार्तडीका सुर्जा थापाको श्रीमानबाट घर बन्दोबस्तदेखि छोराछोरीको हेरचाह केहीमा पनि कमि हुँदैन थियो । रक्सी त समय मिलाएर खाएकै हुन्थे, तर आजकालको जति होइन । श्रीमानको रक्सी पिउने बानीले उनको घरमा शान्ति नभएको र बिहान बेलुका शान्तसँग खाना नखाएको तीन महिना पुग्यो ।

थापाको घरमा रक्सी खाएमात्र झगडा हुन्छ, नखाए त २० पटक गालामा थप्पड लगाएपनि झगडा हुँदैन । रक्सी नखाएमा घरको सबै काम उनको श्रीमानले सम्हाल्छन् । उनलाई लाग्छ, रक्सीको मुहान बन्द हुँदैन ।

सबैभन्दा रक्सीले गर्दा समाजमा विकृति फैलिएको छ, उनको बुझाई छ । उनी भन्छिन्, ‘मेरो श्रीमानले रक्सी नखाएको बेला मजदुरी गरी पैसा कमाउँछन्, घरमा चामल किनेर ल्याउँछन्, बेलुका त्यहीँ दोकानमा लिएर चामल व्यापारी दिएर रक्सी पिउँछन्, घरमा फर्किछन् । मैमाथि आइलाग्छन्, अहिले त झन् यो लकडाउनले २४सै घण्टा रक्सी पिउने मलाई मानसिकदेखि शारिरीक दुवैतिरबाट पिरोलिरहेका छन् । हामी ३ जना घरपरिवार भोकभोकै बस्छौँ ।’

रक्सी नभए त झगडा हुने नै थिएन । उनी समाजमा आफुजस्तै महिलाहरुले श्रीमानबाट खाने गाली र पिटाईको बानी परिसकेको बताउँछिन् । ‘तथानाम गाली मजस्तै सबै महिलाहरुले सहेर बसेका छन्’ उनी भन्छन् । अश्लील शब्द प्रयोग सहन बाध्य छन्, यहाँका महिलाहरुले भान्छाको कामदेखि खेतपाती सबै काम गर्छन् । यहाँका पुरुषहरु रक्सी खाए राक्षस, नखाए भगवान छन् सुर्जा भन्छिन् ।

उनको जस्तै पीडा भएका अर्का महिला लक्ष्मी थापा पनि यता आफ्नो घरमा श्रीमानलाई रक्सी नखान आग्रह गर्छन् र सुझाव सल्लाह पनि दिन्छन् । उता रक्सी बिक्री गर्ने व्यापारीसँग पनि श्रीमानलाई नदिन भन्दै आग्रह गर्छिन् । तर उल्टै श्रीमानको गाली त छँदै थियो, व्यापारीको गाली सहेर बसेकी छन् ।

गौमुल गाउँपालिकाका ७० वर्षिया गंगा रोकायालाई मदिरा खाएर घरमा भैmँझगडा गरेका पटक्कै चित्त बुझेको छैन । उनी आफ्नो समाजमा अरु बेला सुनसान हुने घरमा जब मदिरा खाएर श्रीमतीलाई कुट्ने, अपाच्य शब्द प्रयोग गरी गाली गर्ने श्रीमान धेरै देख्छन् । उनी पनि मदिरा निषेध भए समाज सुध्रिने, महिला र बालबालिका सुरक्षित हुने बताउँदै मदिरा पिउने पैसाले छोराछोरीको भविष्य बनाउन सुझाव दिन्छन् ।
उनी राजश्व तिरर बिक्री गर्ने र आफै उत्पादन गरेर बिक्रि गर्ने दुवै रक्सी बन्द गरे राम्रो ठान्छिन् । उनी भन्छिन्, ‘कुटाकुट गर्छन, हानहान गर्छन, जिप्रका थुनुवा हुन्छन्, यो दम्भ पनि होइन, गाउँसमाज बिग्रएको छ, लाजको कुरा हो, आफ्नो इज्जत जान्छ, बेइजत हुन्छ, विभिन्न चाडपर्व त नआएकै राम्रो ठान्छु ।’

यहाँका पुरुषहरु विभिन्न चाडवाड त आउनै हुन्न उनले भनिन् । त्यतिबेला रक्सी खाने बेला हो जस्तो ठानेर रक्सी खाएर सबै बरालिन्छन्, सबैले झगडा गर्ने समय हो भन्दै कतिका ज्यान पनि यहि मदिराले गएका छन् रोयाकाले थपिन् ।

महिला तथा घरेलुहिसां हुनमा प्रमुख कारक मदिरा बनेको छ । अरुबेला शान्तसँग रमाइरहेका धेरैजसो घरपरिपारमा मदिरा सेवनपछि कलह उत्पन्न भइरहेका छन् । लकडाउनको दुरुपयोग गरि राम्रो व्यवसाय गर्न पाइने मनसाय राखेर घरेलु मदिरा बढी उत्पादन गरिएको पाइएको छ । यसरी मदिरा उत्पादन सेवन बढी भयो भने यसको प्रत्येक्षमारमा महिलाहरु छन् ।

जिल्ला प्रहरी कार्यलयका बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राईका अनुसार लकडाउनकै गत हप्ताको बुधबारदेखि आजसम्म ७९ पेटी १५ क्वाटर मदिरा बरामद भएको छ । उनले भने, ‘जिल्लाको विभिन्न ठाउँमा खाद्यान्न ढुवानी थर्ने सवारी साधानहरुले लकडाउनको मौका छोपी खाद्यान्नसँगै ओसारपसार गरिरहेको अवस्थामा चेक गर्दा बरामद गरी कानुनी कार्बाही समेत गरेको छ ।’ चैत्र ११ गते लकडाउन भएको समयअवधिदेखि आजसम्म ४ हजार लिटर अबैध मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्लामा केही समयका लागि नियन्त्रणमा आएको अवैध मदिरा फेरि जताजतै भेटिने गरेको छ । जसको सेवनबाट यि र यस्तै महिला प्रत्यक्ष मार परेका छन् ।

मदिरा खाएर घरमा श्रीमतीलाई कुट्ने, गाली बेज्जती गर्ने छोराछोरीलाई तनाव दिने पुरुषहरु धेरै छन् । पीडा सहन नगरेर न्यायिक ढोकामा पनि महिलाहरु पुग्छन । केही फर्किन्छन त केही ढोकाबाट फर्केर आएपछि झन अलपत्र पर्ने भएका कारण कतै नगई आफुमा भएका हिसां सहन बाध्य हुन्छन् । मदिरा नियन्त्रणको लागि महिलाहरु नै बढी सक्रिय हुनुपर्ने महिला अगुवाहरुले बताउँने गरेका छन् ।

आर्थिक वर्ष २०६६÷७७ को फागुनसम्म अवैध मदिरा १७ हजार ७ सय ९५ लिटर बरामत गरी नष्ट गरेको प्रहरीले यो लकडाउनको समयमा मात्र ४ हजार ४ सय ७२ लिटर बरामद गरी नष्ट गरेको छ । त्यस्तै अवैध सोफी नामक मदिरा ८० पेटी बरामद गरी नष्ट गरेको छ ।

लकडाउनको दुरुपयोग गरि राम्रो व्यवसाय गर्न पाइने मनसाय राखेर घरेलु मदिरा बढी उत्पादन गरिएको पाइएको छ । यसले बिक्री गर्नेलाई त फाइदा होला नै, यो भयावह अवस्थामा घरभित्रै बसिरहेको वाहानामा मदिरा खाएर घटना घट्न सक्ने अर्को जोखिम हुन सक्छ । यसका लागि सबैले समयकै सतर्क रहनुपर्ने देखिन्छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्