Logo

जुन ढंगले भारतको प्रधानसेनापतिले बोल्नुभयो, त्यो बोलेर भारतले बेठिक गर्यो : आनन्द पोखरेल (भिडिओसहित)



काठमाडौं, ७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद आनन्द पोखरेलले भारतसँग नेपाली भूमि फिर्ता ल्याउनेबारे कुटनीतिक रुपमा वार्ता सुरु गर्ने स्पष्ट पारेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“कुटनीतिक रुपमा वार्ता सुरु गर्नुपर्छ । जस्तो मैले तपाईलाई एउटा कुरा भनौं, जस्तो म उसमा पनि देख्छु, नेपालको अडानको बारेमा भारतले अलिक विगतमा जतिखेर नेपाल सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेलामा, राष्ट्रपतिबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो, यो सहितको नेपालको नक्शा पास गरिन्छ भन्दादेखि जुन ढंगले त्यहाँको प्रधानसेनापतिले बोल्नुभयो, त्यो बोलेर भारतले बेठिक गर्यो । कुटनीतिक मर्यादालाई उल्लंघन गर्यो । नेपाललाई कमजोर देखाउने र दादागिरी गर्ने अप्रत्यक्ष रुपमा सैनिक त्रास देखाउने काम गर्यो । यदि बोल्नैपर्दथ्यो भने त्यहाँको परराष्ट्र मन्त्रालय बोल्नपर्दथ्यो । त्यसकारण भारत र नेपालको सम्बन्धमा भारतले आफूलाई ठूल्दाईको रुपमा प्रस्तुत गर्ने जुन खालको विगतदेखिको कल्चर छ, त्यो कल्चरलाई नेपाली जनताले पटक पटक प्रतिवाद गरेका छन् ।”

उनले नेपालले विगतदेखि नै भारतको ठूल्दाई देखाउने कल्चरको विरोध गरेको पनि सुनाए । उनले भने,”नेपालका कतिपय राजनेताले पनि गरेका छन् । कतिपय सरकारले पनि गरेका छन् । तपाईले भन्नुहुन्छ भने नाकाबन्दीको बेलामा अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले सख्त रुपमा प्रतिवाद गर्नुभयो । हिजो भारतले नाकाबन्दी लाउँदा जबसम्म नाकाबन्दी खोल्दैन, तबसम्म म भारत जाँदिन भनेर अडान राख्ने केपी ओली हो ।”



प्रतिक्रिया दिनुहोस्