Logo

ओली सरकार चीनले अड्याइदिएको हो ?



काठमाडौं, ७ जेठ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भने । उनले यस्तो बचनहरुलाई निम्सरा भने । उनले थपे, ‘यो सरकार जनताले बनाएको हो ।’

नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको सरकार संकटमा पर्दा देखिनेगरी भएको यो सक्रियताले धेरैलाई आश्चर्यमा पारेको थियो । ओली सरकार जोगाउन चीनले भुमिका खेलेको विषय उठेपछि ओलीले संसदमा यसको जवाफ पनि दिए ।

चिनियाँ राजदुत होउ यान्छीको सक्रियता संयोग मात्र थिएन । ओली सरकार संकटमा परिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग जेठको तेस्रो हप्ता नै महत्वपूर्ण टेलिफोन वार्ता गरेकी थिइन् । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखिएको विषय परराष्ट्र मन्त्रालयको प्रेस नोटमा उल्लेख छ । ओलीबारे सी जिनपिङको चासो रहेको सन्देश त्यसमार्फत् प्रवाह गरियो ।

त्यसपछि राजदुत यान्छी अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी भोलिपल्टै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर भेटेकी थिइन् । यो भेटको भोलिपल्ट बसेको नेकपा सचिवालय बैठकले जसरी ओलीलाई हटाउन नसक्ने गरी माहोल विकास गर्यो यसले धेरैमा आशंकाहरु जन्मायो । ओली सरकारलाई चीनले बचाइदिएको चर्चा चल्यो ।

राजनीतिक विश्लेषक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीले नेपालको इतिहासमा पहिलोपटक चिनियाँ राजदुत जटिल परिस्थितिमा कुटनीतिक मर्यादा छाडेर नेकपाका नेताहरुको घर घर पुगेको उल्लेख गरे । उनले भने, ‘सारा मिडियामा टुट्दै आँटेको नेकपालाई चिनियाँ राजदुतलाई मिलाइदिएको भनेको होइन ।’

चिनियाँ राजदुतको पहिलोपटक राजनीतिक सक्रियतापछि चर्चाका बीच भारतले लिपुलेक हुँदै चीनसँग लिंकरोड खोलेपछि नेपाली राजनीतिमा तरंग मात्र आएन नयाँ नक्शा जारी सम्मको परिस्थिति निर्माण भयो । नक्शा जारी गर्नु अघि भारतीय सेनापति एम एम नरवाणेले भारतले लिंकरोड खोल्दा नेपालले जनाएको आपत्तीप्रति टिप्पणी गर्दै कसैको उक्साहट भने । उनको संकेत चीनतर्फ थियो । यसको जवाफ ओलीले दिइसकेका छन् ।

ओलीले भारतको कडा आलोचना मात्र गरेनन् नेपाली भुमीमा चीनतर्फ १७ वटा चेकपोष्ट राखेको सम्म भने । उनले चीनको भन्दा भारतको कोरोना भाइरस कडा रहेछ सम्म भने । यी अभिव्यक्तिले उनको भारतप्रति कडा नीति र चीनप्रति नरम नीति समेत देखियो । यतिसम्मकी लिपुलेकबारे बोलेका र कडा नीति ल्याएका ओलीले सगरमाथाको चुचुरोमा भइरहेको चीनको गतिविधिप्रति मौनता साँधेका छन् ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीटीजिएनले सगरमाथाको चुचुरो चीनमा पर्छ भनी तस्बिरसहित प्रचार गर्यो । पछि नेपाल र चीनको सिमामा पर्छ भन्यो । चीनले फाइभजीको टावर राखेर चुचुरोसम्म प्रभाव रहने गरी व्यवस्था गर्यो । चुचुरोतर्फ मार्ग निर्माण गरिरहेको छ । तर, ओलीले यसतर्फ कुनै ध्यान दिएका छैनन् । उनको यो नीति चीनको बढी भरोसा भइरहेको बुझाई धेरैको छ । राजनीतिक विश्लेषक समेत रहेका

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले चिनियाँ राजदुतको सक्रियतालाई ओलीको सत्ता जोगाउने खेलसँग मात्र नभई नेकपाको विभाजन बचाउने सम्मको भुमिकाका रुपमा व्याख्या गरेका छन् । जे होस् नेपालको राजनीतिक इतिहासमा पहिलोपटक चिनियाँ राजदुत लकडाउनको समयमा सत्तारुढ दलभित्र चरम विवाद चुलिंदा जसरी सक्रिय भइन् यसले नेपालको राजनीतिमा धेरै परिवर्तन र नयाँ सम्भावनाका संकेतहरु देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्