Logo

नेपालको नयाँ नक्साबारे अभिनेत्री मनिषाले ट्विट गरेपछि भारतीय मिडियामा हंगामा



काठमाडौं, ७ जेठ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडियामा हंगामा मच्चाएको छ । नेपालले लिम्पियाधुरासहित जारी गरेको नयाँ नक्साको सपोर्ट गरेपछि मनिषा भारतमा आलोचित समेत बनेकी छन् । मनिषाको उक्त ट्विटलाई लिएर भारतीय सञ्चारमाध्यम तताएको छ ।

बलिउड फिल्मजगतकी चर्चित अभिनेत्री मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । उनले लेखेकी छन, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’ मनिषाको उक्त रि–ट्विटमा कमेन्ट गर्नेहरुले अनेक गाली गलौज गरेका छन् ।

मनिषाको उक्त ट्विट आएसँगै कतिले नेपालको समर्थन गरेको भन्दै भारतबाट खेद्नुपर्ने समेत बताएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट । यसको फिल्म बहिष्कार गर ।

केही ट्वीटर प्रयोगकर्ताले नेपाललाई चीनसँग सतर्क रहनसमेत सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला ।’ यस्तै, अर्का एकजनाले ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैँ सोच्नेछौँ’ लेखेका छन् ।

मनिषाको ट्विटलाई कमेन्ट गर्नेहरुले नेपालको कदमलाई रुचाएका छैनन् । मनिषाकै ट्विटमा कमेन्टमा एक व्यक्तिले लेखेका छन्, ‘नेपाल सधै भारत विरोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ । लिपुलेखजस्तो भारतको अभिन्न अंगमा जबर्जस्ती दाबी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ ।’

ट्विटर प्रयोगकर्ताहरुको गालीलाई भ¥याङ बनाएर भारतीय सञ्चारमाध्यम मनिषाविरुद्ध खनिएको छ । भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चीनको समर्थन गरेको उल्लेख गरेको छ । उनलाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत जनाएको छ ।

नेपालले आफ्नो नक्सामा लिपूलेक र कालापानी समेटर नक्सा सार्वजनिक गरेपछि भारतले ‘चीनको आड’मा भन्ने आशयका समाचार प्रकाशन तथा प्रसारित गर्दै आएको छ । यसैबेला बलिउडमा एकताका हंगामा मच्चाउन सफल चर्चित अभिनेत्री मनिषाको ट्विटले भारतमा सामाजिक सञ्जाल तताएको छ ।दृष्टिबाट File photo



प्रतिक्रिया दिनुहोस्