Logo

राजमार्गका पुल निर्माण जारी



काठमाडौँ, ९ जेठ । कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि बढेको छ ।

पुल निर्माणका लागि छनोट भएको हिन्डूङ एण्ड थोक्कर प्रालिमार्फत पहिलो चरणमा रसुवा र नुवाकोटको सीमा खाल्टे आसपास तथा मैलुङ नजीक चिप्लेटी पुछार, त्रिशूली नदीका दुई स्थान र गोम्चेत क्षेत्रको ठाडो खोलामा पुल निर्माणको काम अगाडि बढिरहेको गल्छी–मैलुङ सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।

ठूलाठूला काम उपकरणले गरे पनि ससाना कामका लागि एक सय मजदूरले रोजगारी पाइरहेका छन् । उनीहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि तोकिएको सामाजिक दूरीको मापदण्डमा राखी काम लगाइएको र नियमित रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गराइएको बताइएको छ ।

मैलुङ– स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर सडक सुधारका लागि भने ठेक्का प्रक्रिया पूरा भए पनि निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनी र सडक सुधार आयोजनाबीच सम्झौता हुन नसकेका कारण सो काम भने अगाडि बढाउन नसकिएको आयोजना प्रमुख भण्डारीले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्