Logo

भारतीय सेनापति बोल्दा हाम्रो सेनापति बोलेनन्, बोल्नलाई केले रोकेको थियो ? : झा (भिडिओसहित)



काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका युवा नेता केशब झाले भारतसँग वार्ता र सम्वादको माध्यमबाट नेपालले आफ्नो जमिन फिर्ता गर्ने पहलकदमी चाल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देशको नेतृत्वकर्ता भएकोले सबैलाई मिलाएर लैजानुपर्ने उनको भनाई छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मात्रै हिरो बनाउन खोजिएको भन्दै उनको गुनासो छ । उनले वर्तमान सरकार नेकपाले बनाएको भएपनि यो देशको सरकार भएकोले सरकारको नेतृत्व गर्ने व्यक्ति र उनका सहयोगीहरुले देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

उनले नेपाल-भारत सम्बन्ध बिगार्न चाहनेहरुले अहिलेको अवस्था खेल्न सक्ने खतरा औंल्याउँदै दुवै देशका सरकार सचेत र गम्भिर हुनुपर्ने पनि बताए । भारतीय सेनाअध्यक्षले बोल्दा नेपालका सेनापतिले किन बोलेनन् ? भनेर पनि उनले प्रश्न गरे । उनले भने-“भारतीय सेनापतिले बोलेको कुरा गर्नुभयो, सेनापति भनेको सरकार होईन नि । सरकारले के बोल्यो भन्ने कुरा महत्वपूर्ण हो नि त । त्यो विषयमा कुरा उठ्यो त हाउसमा, त्यसको समुचित जवाफ दिनुपर्छ भनेर, कुन निकायले दिने हो दिनुपर्दथ्यो नि । सरकार बोल्नुहुँदैन थियो, ल ठिक छ, हाम्रो सेनाले बोलेको भए भैहाल्थ्यो नि । हाम्रो सेनामाथि दबाब त थियो बोल्ने, सेना पन्छियो । हामीबीच सम्बन्धपनि यस्तो छ कि त्यहाँको सेनापति यहाँको मानार्थ सेनापति हुने र यहाँको सेनापति त्यहाँको मानार्थ सेनापति हुने । के प्रकारको कल्चर हो ? त्यहाँको सेनापतिले बोल्दा हाम्रो सेनापतिले पनि बोले हुन्थ्यो नि ? किन बोलेन् ? कसले रोकेको थियो ?”



प्रतिक्रिया दिनुहोस्