Logo

त्रिवि शिक्षण अस्पताललाई एलआरआई स्कुलको सहयोग



काठमाडौँ, ९ जेठ : कलङ्कीस्थित एलआरआई स्कुलले कोभिड–१९ रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आज प्रदान गरेको छ । सामाजिक उत्तरदात्वि अन्तरगत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करीब रू दुई लाख बराबरको सामग्री सहयोग गरेको हो ।

विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यसअगाडि स्थानीय तहका फोहरमैला सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागि समेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो । यहाँ आज आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठीयार यसोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री
(पिपिआई) १७ थान, केएन ९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क ३०० थान, साधारण मास्क ९० थान, सेनिटाइजर १०० थानलगायत सामग्री हस्तान्तरण गरेकी हुन् ।

विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक खड्गाले करीब एक हजार ४०० कर्मचारी रहेको आफ्नो कार्यालयमा स्वास्थ्य सामग्रीको खपत हुने हुँदा त्यसको अत्याधिक माग बढेको अवस्थामा विद्यालयले गरेको सहयोगको सराहाना गरे । उनले लकडाउनको अवधिमा सर्वसाधारणले जथाभावी हिँडडुल गर्न नहुनेमा जोड दिँदै अस्पतालमा एक जना कोरोना सङ्क्रमित बालिकाको उपचार भइरहेको र आवश्यकताअनुसार आइसोलेसन केन्द्रको विकास गरिने बताए ।

विद्यालयका कन्फुसीयस कक्षाका निर्देशक तान पानले ट्रष्टद्वारा संचालित यस संस्थाले सामाजिक सेवामा सधै समर्पित रहेको विचार व्यक्त गरे । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेको शिक्षक दीपक जोशीले जानकारी दिए ।

विद्यालयले कोरोनाबाट बढी प्रभावित सुदूरश्चिम प्रदेशलाई १५ हजार थान सर्जिकल पञ्जा, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन स्थललाई ५० थान बेड, सोही संख्यामा म्याट्रेस, सिरानी, बेडसिट र कम्वल प्रदान गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–१० अन्तरगत तारकेश्वर युवा क्लब स्युचाटारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्