Logo

भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती



भीमदत्तनगर, ९ जेठ : भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भूपूहरुले नेपाल–भारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो पोख्नुभएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च चलाउन गाह्रो भइरहेको उनीहरुको भनाइ छ । बैतडीको दशरथ चन्द नगरपालिका–६ सिमायलका भीमबहादुर चन्दले दुई महिनादेखि नाका बन्द हुँदा सिमावर्ती भारतीय बजार झुलाघाट जान नसकेको बताउनुभयो ।

“पेन्सनबाटै घरको नुन, तेल खर्च चल्थ्यो”, भारतीय सेनाबाट अवकाश प्राप्त चन्दले भन्नुभयो, “अधिकांश भूपूहरु पेन्सन भारतमै बुझ्ने गर्छन् ।” पेन्सन बुझ्न जाने भूपूको सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयसित गुहार माग्दा कुनै सुनुवाइ नभएको चन्दको गुनसो छ । “प्रशासनले माथि लेखेर पठाएको छौँ, निर्देशन आएपछि मात्रै पहल गर्छौं भन्छ ।” उहाँले भन्नुभयो, “नेपालबाटै पेन्सन बुझ्ने व्यवस्था भइदिए पनि हुन्थ्यो ।”

बैतडीमा भारतीय फौजबाट अवकाश प्राप्तहरुको हकहित र तिनका आश्रित परिवारलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउन स्थापना भएको जिल्ला भूपू सैनिक बोर्डले पनि भूपू सैनिक पेन्सन बुझ्न जान नसक्ने अवस्था रहेको जनाएको छ । “सीमा सिल छ, माथिबाट पहल नभएसम्म खुल्ने सम्भावना छैन”, भूपू सैनिक बोर्ड बैतडीका प्रमुख टीकाबहादुर पुनले भन्नुभयो, “हाल बैतडीमा २०० भन्दा बढी भूपूहरु छन् ।”

त्यसैरी बोर्डले कञ्चनपुरमा समेत भारतीय सुरक्षा निकायबाट अवकाश प्राप्तको तथ्याङ्क सङ्कलन गरिरहेको छ । यहाँको बैतडी, दार्चुला, कैलाली र डडेल्धुरालगायतका जिल्लामा भारतीय सुरक्षा निकायबाट अवकाश पाउनेको सङ्ख्या ठूलो छ । “केहीले यताकै एसबिआई र एभरेष्ट बैंकबाट पनि पेन्सन बुझ्ने गरेका छन्”, भूपू सैनिक बोर्ड भीमदत्तनगरका प्रमुख दयाकृष्ण भट्टले भन्नुभयो, “धेरैले सीमावर्ती बजारमै पुगेर पेन्सन बुझ्ने गरेको भए पनि लकडाउनले त्यो सम्भव हुन सकेको छैन ।”

अङ्ग्रेजी महिनाको शुरुवातमा सीमावर्ती बजार खटिमा, वनबसा र टनकपुरका विभिन्न बैंकमा पेन्सन बुझ्ने नेपालीको भीड नै लाग्छ । बैंकसँगै किनमेलका लागि आर्मी क्यान्टिनमा समेत घुइँचो लाग्छ । भारतीय सेनाको हवल्दारबाट अवकाश प्राप्त कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका गजेन्द्रबहादुर चन्दले दुई महिनादेखि पेन्सन लिन भारतीय बजार टनकपुर जान नपाएको बताउनुभयो ।

“मार्चमा गए त्यसपछि जान पाइएन”, उहाँले भन्नुभयो, “पेन्सनकै भरमा परिवारको खर्च चलाउनेलाई निकै समस्या भएको छ ।” उहाँले कञ्चनपुरमा मात्रै भारतीय सुरक्षा निकायबाट अवकाश पाएका एक हजार २०० भन्दा बढी भूपू रहेको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्