Logo

तथ्यसहित वार्ताको टेबलमा बसेर मात्र सिमा विवादको हल निस्कन्छ-प्राध्यापक लामा



काठमाडौं, १० जेठ । भारतका प्रतिष्ठित प्राध्यापक महेन्द्र पी लामा नेपाल मामलाका जानकार पनि हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका उनले सिमा समस्याको समाधान वार्ताबाट मात्र निस्कने बताएका छन् । यसै विषयमा महेन्द्र पी लामासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
सीमा समस्या समाधानका लागि भारतले नेपालसँग कहिले वार्ता गर्दै छ ?
दुई, तीन वर्ष पहिला पनि नेपाल र भारतीयबीचको सम्बन्धमा केही तिक्तता आयो । अहिले फेरि दोहोरिएको छ । दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन वार्ता गर्नुपर्छ । वार्ताबाहेक अरु केही उपाय नै छैन । हामी आशावादी हुनुपर्छ दुवै देशबीच चाँडोभन्दा चाँडो वार्ता हुनेछ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा निकाल्यो त्यो मान्न तपाईं तयार हुनुहुन्छ ?
सरकारबीच भएको कुरा हामीलाई सञ्चारमाध्यम मार्फत थाहा हुने हो । यसमा के भयो, कसो भयो भन्ने कुरा त तपाईं र मलाई मात्रै होइन । सबै विश्वलाई नै थाहा भएकै कुरा हो । तर, यसलाई सुल्झाउनको लागि दुवै देशका राष्ट्र प्रमुखहरुलाई तपाईं, हामीले भन्नुपर्छ ‘दुवै देश मिलेर छिटोभन्दा छिटो वार्ता तयार हुनुहोस्’ भनेर । अहिले दुवै देशलाई कोरोना भाइरसको कारणले पिरोलिरहेको छ । त्यसलाई मध्यनजर गर्दै वार्तालाई पनि छिट्टै अगाडि बढाउनुपर्छ भनेर तपाईं, हामीले भन्नुपर्छ ।
वार्ता त हुनुपर्छ, तर लिपुलेक, लिम्पियाधुरा नेपाललाई फिर्ता गर्न भारत तयार छ कि छैन ?
यसमा धेरै कुराहरु आउँछन् । यी दुई देशबीचमा जसरी तिक्तता आयो, जमीन, सीमानाको कुरा आयो । यसमा धेरै पक्षहरु छन् । अहिले नै हामीले यो साँचो हो, यो झुटो हो भन्नेतिर जानुभन्दा पनि कसकोमा के कस्तो नक्सा छ, कसकोमा के इतिहास छ । अहिलेको स्थितिले के भन्छ, सर्वे गर्दाको नक्साले के भन्छ । यी सबैमा जब वार्ता सुरु हुन्छ । सबै कुराहरु आइहाल्छ ।
सुगौली सन्धिदेखि अहिलेसम्मका तथ्य, प्रमाणहरु हेर्दा त लिपुलेक, लिम्पियाधुरा त नेपालकै हो नि त्यो कुरा तपाईंहरुले बिर्सन मिल्छ र ?
त्यो पनि तपाईंले ठिकै भन्नुभयो । नेपाल सरकारको पक्षबाट नेपालले कुरा राखिरहेको छ र भारत सरकारको पक्षबाट भारतले पनि आफ्ना कुरा राखेकै छ । बेलाबेलामा मैंले कहिल्यै नसुनेको र देखेको कुराहरु पनि आउँदा अचम्ममा परेको छु ।
अब कालापानी, लिपुलेक र लिम्पियाधुराबाट आफ्नो प्रभाव हटाउन भारत सरकारले नेपालसँग कस्तो प्रस्ताव राख्छ त ?
यतिबेला अरु तर्कबितर्कमा नगएर मेरो त एकदमै स्पष्ट अडान छ, कुनै तर्कबितर्क भन्दा पनि दुवै राष्ट्रहरु आपसमा भेटेर ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा वार्ता गरिँदैन तबसम्म समाधान हुँदैन । कतिपय कुराहरु तपाईं, हामी जस्ता साधारण मान्छेले धेरै कुराहरु बुझेकै छैन । भित्री कागजपत्रहरु के कस्ता छन् । त्यसको अध्ययन नगरीकन बीचैमा अगाडि बढाउन पनि मिल्दैन कि जस्तो लाग्छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त कालापानी, लिपुलेक र लिम्पियाधुरा जसरी पनि हामी फिर्ता ल्याउँछौं भन्नुभयो नि संसदबाटै ?
हामी भारततर्फबाट जतिले पनि हेर्दै छौं, नेपालतर्पmबाट पनि तपाईंहरु हेर्दै हुनुहुन्छ, के हुँदैछ ? भनेर । यस्तो अन्यौलता र अँध्यारो स्थिति पहिला पनि भारत र नेपालबीच भएको हो । त्यसबेला पनि दुवै राष्ट्रहरु आपसमा कुराकानी गरेरै निस्किएका हुन् । खासमा भन्ने हो भने मैले यो बारेमा राम्रोसँग अध्ययन पनि गरेको छैन । अर्को मैंले दुवै देशबीचको कुराहरु गहिएर अध्ययन पनि गरेको छैन । त्यसैले यसबारेमा धेरै बहस पनि गर्न चाहन्नँ । त्यसको लागि दुवै देश बसेर वार्ता गर्नुपर्छ । कुनै पनि समस्याको हल वार्ताबाटै निस्कन्छ । निस्किनुपर्ने पनि यसरी नै हो ।



प्रतिक्रिया दिनुहोस्