Logo

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग



काठमाडौं, १० जेठ ।  विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताउनुभयो । व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

विगत २५ वर्षदेखि काठमाडौँमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आउनुभएका हुसेनले उपलब्ध गराउनुभएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गर्नुभयो । ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौँ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताउनुभयो । विपद्मा फोटो पत्रकारलाई सम्झेर सहयोग गरेकामा अध्यक्ष चित्रकारले व्यवसायी हुसेनको प्रशंसा गर्नुभएको एनएफपिजेले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्