Logo

डा. बाबुराम भट्टराईलाई ‘हार्दिक श्रद्धान्जली’ भनेपछि ऐन महरको चर्को आलोचना



जेठ १०, काठमाण्डौ । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर विवादमा तानिएका छन् । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै समाजिक संजाल फेसबुकमा गाली गरेपछि उनको आलोचना भएको हो ।

बेला बेलामासामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीलाई प्रतिक्रिया दिदा भाषा शैलीको ख्याल नगर्ने महरले भट्टराईको फेसबुक स्टाटसलाई दिएको जवाफमा चुकेको देखिन्छ ।

उनले पूर्वप्रधानमन्त्री डा भट्टराईलाई एक स्टाटसको टिप्पणी गर्ने क्रममा श्रद्धाञ्जली नै व्यक्त गरेका थिए । उनले लेखेका थिए–‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ । यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’
यसरी हार्दिक श्रद्धान्जली नै भनेपछि उनको सामाजिक संजालमा आलोचना भएको हो । आलोचनाको ओइरो लागेपछि महरले आफ्नो स्टाटस सम्पादन गरेका छन् ।

भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।
भट्टराईको धारणा यस्तो थियो–‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्, तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिङ्गाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’

यसको प्रतिक्रिया दिने क्रममा भाषा शैलीमा चुकेका महरले तीन पटक आफ्नो स्टाटस सम्पादन गरेका छन् । सम्पादनपछिको पछिल्लो स्टाटस यस्तो छ– धेरै पढे बिद्धान हुन्छ बिद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ। यिं गद्धार दलाल राष्ट्रघातिले जब राष्ट्रको सबाल आउँछ अनि आफ्नो असली रुप देखाई हाल्छन र मालिकको आदेश आए पछि देशका बिरुद्ध भुक्न शुरु गर्छन। नेपाली जनता अब यस्ता गद्धारहरुको भ्रम बाट मुक्त हुन जरुरी छ ।कृपया स्मरण रहोस यिनको अभिव्यक्ति स् मान्छे नरहे पहाड (लिपुलेख,कालापानी र लिम्पियाधुरा)मात्रले राष्ट्र बन्ला???

महरले श्रद्धान्जली नै व्यक्त गरेपछि नेकपाकै नेताहरुले कडा आलोचना गरेका छन् । तत्कालिन माओवादीसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गरेका हाल नेकपाका नेता रमेश मल्ले आफ्नो स्टाटसमा महरको नाम त उल्लेख गरेका छैनन् । तर महरलाई नै लक्षित गरेर महरको राजनीतिक संस्कारमाथि प्रश्न गरेका छन् ।

मल्लले लेखेका छन्–यस्तो राजनीतिक संस्कार हामीले कदापि हस्तान्तरण र पुस्तान्तरण गरेका होइनौं !

महरको स्टाटसमा कतिपयले भने बाबुरामलाई यस्तै जवाफ दिनुपर्छ भन्दै सहमति जनाएका छन् । तर अधिकांशले भाषा शैलीको विरोध गरेका छन् । जिउँदो मान्छेलाई श्रद्धान्जली भन्नु गलत भएको धेरैको टिप्पणी महरको स्टाटसको कमेन्टमा देख्न सकिन्छ ।

तीन पटक स्टाटस सम्पादन गरेका महरले त्यसपछि भने कुनै प्रतिक्रिया वा टिप्पणी गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्