Logo

डा. महतको खुलासा : मैले सिमा विवादको कुरा उठाउँछु भनेर मोदीले यसबारे बोल्नै चाहेनन् (भिडिओसहित)



काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्र यतिवेला संकटमा रहेको बताउँदै नेपालपनि यसबाट अछुतो नरहेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले भने,’हेर्नुहोस, कोरोनाका कारण संसारभरि मानवीय क्षतिपनि ठूलो भएको छ । नेपालमा संक्रमण बढ्दो छ । अहिले संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । त्यसो भएकोले सतर्कता कायम गर्नु जरुरी छ । यसको साथै हाम्रो स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै सुधारहरु छन् । क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्छ, त्यहाँ बसेकाहरु नै संक्रमित भएका छन् । संक्रमित भएको हो कि होईन, त्यही पिसिआरले देखाउँछ । जताततै पिसिआर परीक्षण गर्नुपर्छ । आगामी बजेटको कुरा गर्दापनि स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ । संक्रमण रोक्ने कुरामा जोड दिनुपर्छ । अहिले नेपालको अर्थतन्त्र खराब अवस्थामा छ, यसलाई नयाँ जीवन दिनेगरि बजेट ल्याउनुपर्छ ।’

त्यस्तै, महतले एमसिसी नेपालको हितमा भएकोले जतिसक्दो चाँडो संसदबाट पारित गर्नुपर्नेमा जोड दिए । आफूहरु राष्टको हितमा कुरा राखिरहेको पनि उनको तर्क । महतले नेपाल-भारतबीचको सिमा विवाद वार्ता तथा सम्वादमार्फत समाधान गर्नुपर्ने पनि बताए । भारत र चीनले लिपुलेक हुँदै द्धिपक्षीय रुपमा खोलेको व्यापारिक नाकाको बारेमा आफूहरुले त्यतिवेला नै आपत्ति जनाएको महतले स्मरण गराए । उनले भने,’म भारत जाँदा पनि यो कुरा उठाएको थिएँ । तर, तत्कालिन् विदेश सचिव जो अहिले विदेशमन्त्री हुनुहुन्छ, जयशंकरले यो विषयमा कुरै गर्न चाहेनन् । मैले सिमा विवादको विषय उठाउँछ भनेर उनले म र प्रधानमन्त्री मोदीबीचको भेटवार्ता नै रद्द गरेका थिए । जुन दिन मेरो एपोईन्टमेन्ट थियो, त्यो दिन रद्द गरेका थिए । तर, भोलिपल्ट मैले मोदीजीलाई भेटेको थिएँ । तर, सिमा विवादको विषयमा कुरा हुन पाएन ।’



प्रतिक्रिया दिनुहोस्