Logo

ओलीको ‘नक्शा अस्त्र’: एक तिरबाट तीन शिकार



दीपेश केसी, समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नयाँ नक्शा जारी गर्न लगाए । कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको नेपालको नक्शा जारी भएपछि सिंगो देशमा लोकप्रीयता हासिल गरेका छन् । लकडाउनका समयमा उनले चालेका विवादास्पद कदमका कारण सत्ता संकट परिसकेको र अलोकप्रीयताको पींधमा पुगिसकेको अवस्थालाई उल्टाइदिए ।

पहिलोः ओलीको लोकप्रीयता समुन्द्रको पींधबाट उठेर सगरमाथाको चुचुरोमा पुगेको छ । ओलीको अस्त्र यति मजबुत थियो कि सिंगो देशको ध्यान सगरमाथामा चीनले आफ्नो समेत दाबी प्रमाण पुर्याउन गरिरहेका गतिविधिमा समेत नागरिकको ध्यान जान दिएनन् । यतिसम्मकी चीनले राष्ट्रिय टेलिभिजनमा सगरमाथाको चुचुरोलाई शुरुमा आफ्नो भनी प्रचार गरी पछि सच्याएर चीन र नेपालको संयुक्त भनी प्रचार गराउँदा पनि न त सरकार बोल्यो न त जनतामा त्यसतर्फ आवाज उठाउने भावना नै जाग्यो ।

ओलीले नक्शा अस्त्रले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अहिलेलाई भारतलाई आच्छु आच्छु पारे । उनले भारतको नाम नलिई संसदको नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा ‘सरकार ढाल्ने कल्पना समेत नगर्न’ चुनौती दिए । यति भन्दै गर्दा उनले चिनियाँ राजदुत होउ यान्छीको नाम नलिई कुनै देशको राजदुतले सरकार थामिदिएको भन्नुलाई गलत भने । एकातर्फ उनले चीनको साथ लिएर सरकार जोगाएको चर्चा चलिरहेको छ अर्कोतर्फ भारतीय पक्ष उनको सरकार ढाल्न लागिपरेको विषय उत्तिकै उठेको छ । यो विषय उठिरहँदा ओलीले नक्शाको अस्त्रबाट भारतलाई अप्ठ्यारोमा पारेर चीनलाई खुशी बनाउन सके ।

भारतीय सेनापति एम एम नरवाणेले चीनको उक्साहटमा नेपालले लिपुलेक हुँदै भारतले बनाएको लिंकरोडको विरोध गरेको टिप्पणी गरेलगत्तै चीनका लागि नेपालका राजदुत महेन्द्र पाण्डेले अन्तवार्तामार्फत् ‘सुरक्षा थ्रेट’ दिएको भनी अन्तवार्तामा बोले । ओलीको निर्देशनविना पाण्डेले बोले भन्ने पत्याउन सकिदैन । भारतीय सेनापतिको भनाईको जवाफ सेनापति पूर्णचन्द्र थापा या सैन्य तहबाट वा परराष्ट्र मन्त्रालयको तहबाट सिधै हुनुपर्नेमा चीनका लागि नेपाली राजदुत पाण्डेबाट दिइयो । यसबाट पनि ओलीले भारतलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न चीनको साथ लिइरहेको सन्देश दिन खोजे ।

दोस्रोः कोरोना भाइरसको रोकथामका लागि सरकारले चालेको कदम निकै हल्का र अदुरदर्शी खालको छ भन्ने क्वारेन्टाइन नै कोरोना कहरको केन्द्र बनेबाट स्पष्ट भएको छ । अपरिपक्व ढंगले भारतसँगको सिमा शुरुमा बन्द गर्ने र पछि एकैपटक खोल्दाको अनियन्त्रित मानव भेलले महामारी बढायो । सिमा पारी नै मानिसहरु संक्रमित भइसकेको र नेपाल छिर्दा क्वारेन्टाइनमा मृत्यु भएको सम्मको घटना बाहिर आयो । त्यसमाथि सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमितताको विषय पनि आयो ।

लकडाउनको बखत समाजवादी पार्टी फुटाउन खोज्नु र सांसद सुरेन्द्र यादवको ‘अपहरण’ भएको भनिएको प्रकरणले सरकार आलोचित भयो । लकडाउनको बखत विवादास्पद दुई विधयेक ल्याइयो । पार्टी फुटाउने उद्देश्यले ल्याइएको विधयेकका कारण सरकार निकै आलोचित भयो । तर, सिमा विवादले यी सबै घरेलु विषय ओझेलमा पारिदियो । ओलीले यही मौकामा नक्शा जारी गरेर आफ्नाविरुद्ध लागेका आरोपलाई देशको पुरानो नक्शासँगै गाडिदिए ।

ओलीले नक्शालाई अस्त्रका रुपमा हानेर पार्टीभित्रका विरोधीलाई पनि कमजोर पारिदिएका छन् । उनका खरो आलोचक भीम रावल नै चुप लाग्नुपर्ने बनाइदिएका छन् । आफूविरुद्ध घेराबन्दी गरेर सत्ता ढाल्न तयार भएका भनिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत कमजोर बनाइदिएका छन् । उनीहरु ओलीको आलोचना सम्म गर्दा उल्टै ‘भारतपरस्त’ को आरोप खेपेर आलोचित हुनुपर्ने भयका कारण मौन बन्दै ओलीकै लयमा लय मिलाउन थालेका छन् । चिनियाँ राजदुत यान्छी एकै दिनको विहान प्रचण्ड र माधवकुमार नेपालको घर पुगेर के कुरा गरिन् र कस्तो दबाब दिइन् भन्ने तत्काल बाहिर नआएपनि पछि खुल्ला नै । प्रचण्डले घरमा यान्छी आएको तस्बिरसम्म बाहिर ल्याएर केही सन्देश त पक्कै दिएका छन् ।

ओलीले ‘नक्शा अस्त्र’ बाट तत्काल सत्ता सुरक्षित पनि गरेका छन् । नेकपाभित्र र बाहिर समेत उनको प्रभाव बलियो बनेको छ । कुनैबेला महाकाली सन्धीको विरोध गरेर पार्टी समेत विभाजन गर्न पुगेका र कालापानीको विषयमा सशक्त रुपमा आवाज उठाउँदै आएका बामदेव गौतमले समेत ओलीलाई नक्शाको विषयले देवत्वकरण नगर भन्नुपरेको छ । पूर्व माओवादीका प्रभावशाली नेताहरुलाई समेत ओलीले आफ्नो पक्षमा पारिसकेका छन् । नक्शा जारी गरेर उनी झन् बलियो र सुरक्षित भएका छन् ।

तेस्रोः चीन र भारतबीच सिमा विवाद बढ्दै गएको छ । सिक्किममा दुई देशका सैनिकबीच झडप भएको छ । दोक्लाम घटनापछि यसै महिना पहिलोपटक झडप भएको हो । काश्मिरबाट अलग गरी भारतले छुट्टै राज्य बनाएको लदाखमा सैन्य उपस्थिति बढ्दो छ । भारतीय सेनापति एम एम नरवाणे शुक्रबार लदाख पुगेका थिए ।

दक्षिण एशियामा चीनको बढ्दो उपस्थिति रोक्न भारत सक्रिय भइरहेको छ । तर, भारत पछिल्लो समय कुटनीतिक दृष्टिले नेपाल मामलामा असफल हुँदै गएको टिप्पणी रणनीतिक तथा कुटनीतिक मामलाका जानकारहरुले गर्दै आएका छन् । एस डी मुनीले भारत विदेश मामलामा चुक्दै गएको टिप्पणी गरेका छन् । नेपालमा चीनको बढ्दो उपस्थितिबारे भारतमा टिकाटिप्पणीहरु भइरहेका छन् । जनरल अशोक मेहताले नेपालमा चीनले भारतको ठाउँ लिइसकेको तर्क गरेका छन् । चीन निकै हावी भएको उनको टिप्पणी छ । भारतका पूर्व जनरल गगनदीप बक्सीले भारतले नेपाल मामलामा १५ वर्ष अघि नै सेल्फ गोल गरिसकेको टिप्पणी गरका छन् । उनले माओवादीलाई भारतले नै पालनपोषण गरी नेपालमा हिन्दु राष्ट्र समाप्त गर्न पठाउँदाको सजाय भोग्नुपरेको बोलेका छन् ।

नेपालमा चीनको बढ्दो प्रभाव घटनाक्रमले पुष्टि गर्दै लगेको छ । माओवादीको सत्तारोहणयता चीनको प्रभाव बढेको र ओलीको सत्तामा त्यो झन् विस्तारित र सशक्त हुनपुग्यो । नेपालका नेताहरुमध्ये भारतलाई सबैभन्दा बढी बुझेका र भारतीय नेताहरुसँग उठबस गरेका ओलीले नक्शा जारी गरेर भारतलाई सिमाका विषयमा वार्ताका लागि वाध्य पार्ने अवस्था बनाएका छन् । भारतको विदेश मन्त्रालयले पनि कुटनीतिक वार्तामा जोड दिएको छ । जनरल अशोक मेहता, प्राध्यापक एस डी मुनी देखि प्राध्यापक महेन्द्र पी लामा समेत वार्तामै जोड दिइरहेका छन् । भारतले विगतमा सिमा विवादमध्ये कालापानीको विषयमा वार्तालाई आलटाल गर्ने गरेको विषय उठ्ने गरेको थियो । यसपटक भारतीय विज्ञहरुले अनलाइनमै भएपनि वार्ता हुनुपर्नेमा जोड दिएका छन् ।

अर्कोतर्फ, ओलीले कालापानी क्षेत्रको सिमा विवादमा चीनलाई उपस्थित गराउन खोजेको देखिन्छ । नक्शा जारी गरेर उनले त्रिदेशीय सिमा क्षेत्रमा त्रिदेशीय वार्ताको वाध्यकारी अवस्था बनाउन खोजेका छन् । हुनत चिनियाँ विदेश मन्त्रालयले भारत र नेपालको मामलामा संलग्न नहुने र दुई देशबीच समाधान होस् भन्नेमा जोड दिएको छ । तर, चीन कहीं न कहीं यो मामलामा देखिन र सुनिन चाहेको छ । भारतसँगको सिमा विवादमा चीनले यस्ता विषयमा ‘बार्गेनिङ पावर’ बढाउन सक्छ । ओलीले नक्शाको अस्त्र हानेर चीनलाई नेपाल मामलामा झन् बलियो बनाइदिएका छन् । भारतलाई नराम्रो धक्का मात्र परेको छैन आफ्नो सबैभन्दा निकटस्थ मित्रशक्तिसँगै नै सिमा विवादको विषय सँसारभर फिजिएको छ । त्यो पनि कोरोना कहरको बखत ।

ओलीले यो अस्त्रबाट भविष्यमा चीनको झन् बढी साथ पाउने अवस्था सृजना गर्न सफल भएका छन् । अब उनलाई नेपाली जनताले पनि ‘चीनबाट चुच्चो रेल ल्याउँछु भनेको किन नल्याएको ?’ भनी प्रश्न सोध्ने छैनन् । देशको नयाँ नक्शा जारी गरेकाले ‘राष्ट्रवादी’ बन्दै यही देखाएर अर्को चुनाव समेत जित्नसक्ने माहोल तयार गरेको छ । जसरी उनले नाकाबन्दीमा भारतको विरोध गरेर ‘राष्ट्रवाद’ को पहिचानसहित चुनाव लडेर सानदार जित हासिल गरे नयाँ नक्शा त्योभन्दा सशक्त राजनीतिक अस्त्र बनिसकेको छ । तर, यसको प्रभावकारिता र दीगोपनमा भने प्रश्न गर्ने प्रशस्त ठाउँ छ ।



प्रतिक्रिया दिनुहोस्