Logo

शिक्षण सिकाइका लागि रेडियो स्कूल कक्षा कार्यक्रम



राजापुर, ११ जेठ : बर्दियाका तीन नगरपालिकाको सहकार्यमा रेडियो स्कूल कक्षा कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ । बर्दियामा रहेका रेडियोहरुको साझेदारीमा मधुवन, गुलरिया र बारबर्दिया नगरपालिकाले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।

सो कार्यक्रम बर्दियाको गुलरियामा रहेको रेडियो बबई एफएम १०६ मेगाहर्ज, भुरीगाउँमा रहेको रेडियो टाइगर एफएम ९९.२ मेगाहर्ज र मधुवनमा रहेको रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जबाट नियमित प्रसारणको व्यवस्था मिलाइएको छ । कोभिड १९ संक्रमण महामारी हुन सक्ने भन्दै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन् । यस्तो अवस्थामा विद्यार्थीले स्वास्थ्य सुरक्षाका साथ आफ्ना शिक्षण गतिविधिलाई निरन्तरता दिन पाउने हुनाले रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरिएको मधुवन नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो ।

कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा रहेका बालबालिकामा शैक्षिक तथा मानसिक रुपमा समस्या नआओस् भनेर बर्दियाका रेडियोहरुको साझेदारीमा नगरपालिकाहरुले कार्यक्रम सञ्चालनमा ल्याएको बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । बर्दियामा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गर्दै सो कार्यक्रम ल्याइएको भन्दै नगर प्रमुख थारुले कक्षा १, २ र ३ का विद्यार्थीका लागि विशेष रमाइलो कक्षा पनि सञ्चालन गरिएको बताउनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्