Logo

सङ्क्रमतिको सम्पर्कमा रहेका ६८ जनाको स्वाब सङ्कलन



बैतडी, ११ जेठ : बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको छ । आइतबार २२ र शनिबार ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तहरुको स्वाब सङ्कलन गरेर पठाइएको हो ।

यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर धनगढी पठाइएको थियो । यद्यपि स्वाबको रिपोर्ट भने आउन बाँकी रहेको छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको हो ।

ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिएको हो । चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब सङ्कलन गरिएको हो । रासस File photo



प्रतिक्रिया दिनुहोस्