Logo

अफगानी राष्ट्रपति घानीद्वारा तालीवान कैदीबन्दीलाई क्रमशः छोड्ने प्रतिवद्धता



११ जेठ : तालीवानी समूहका कैदीहरूको रिहाई प्रक्रियालाई थप शीघ्रता दिने अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार बताउनुभएको छ ।

तालीवान समूहले युद्धविरामको प्रस्ताव गरे पछि उनीहरुसँग तुरुन्तै ‘शान्ति वार्ता’ गर्न तयार रहेको बताउनुभएको छ ।

तालिबानले ईद–उलफित्र बिदामा तीन दिनसम्म युद्धविरामको प्रस्ताव राखेको छ । मुस्लिम रमजानको एक महिना लामो उपवासपछि आइतवारदेखि शुरू हुने रमणीय माहोल अर्थात् आफन्तहरूलाई भोज गर्ने समयमा युद्धविराम गर्ने प्रस्तावलाई राष्ट्रपति घानीले तुरुन्तै स्वीकार गर्दै वार्ताको नयाँ चरणमा प्रवेश गर्न आफु तयार रहेको बताउनुभयो ।

“एक जिम्मेवार सरकारको रूपमा हामी अर्को एक कदम अगाडी बढ्छौं । म घोषणा गर्दछु कि तालिवान कैदी रिहाइ प्रक्रिया छिटो हुनेछ ।” घानीले राष्ट्रलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

अमेरिका–तालिवानी समूहबीच फेब्रुअरीमा हस्ताक्षर गरिएको सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवान बन्दीहरूलाई रिहा गर्ने र विद्रोहीले झण्डै एक हजार अफगान सुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गर्ने सहमति भएको छ ।

सरकार र तालिबानबीच लामो समयदेखि अपेक्षा गरिएकोे शान्तिवार्ताका लागि आत्मविश्वास निर्माण गर्ने कदमका रूपमा कैदीको आदानप्रदान गर्ने सहमति सम्झौतामा भएको थियो ।

काबुलले हालसम्म करीव एक हजार तालिवान कैदीलाई रिहा गरिसकेको छ भने विद्रोहीले ३०० अफगानसुरक्षा बलका कर्मचारीहरुलाई मुक्त गरिसकेको छ ।

अमेरिकी सम्झौतामा हस्ताक्षर गरेदेखि अफगानी सेनामाथि क्रुर हमला गरेको विद्रोहीसँग सरकार ‘तुरुन्त’ शान्ति वार्ता गर्न तयार रहेको घानीले बताउनुभएको थियो ।एएफपी File photo



प्रतिक्रिया दिनुहोस्