जेठ ११, काठमाण्डौ । कामका लागि विदेश गएका नेपालीहरु कोरोनाको चपेटामा परेका छन् । भिसा अवधि सकिएका, कामबाट निकालिएका तथा कोरोनाको त्रासले नेपाल फर्किन चाहनेहरु धेरै छन् । उनीहरुले स्वदेश फर्किन पाउँ भन्दै सरकारसँग सहयोग मागिरहेका छन् । सरकारले आवश्यक तयारी गरेको भनिए पनि कहिलेसम्म उनीहरु नेपाल फर्कन पाउँछन भन्ने टुंगो भने लागेको छैन ।
वैदेशिक रोजगारीका लागि विदेश गएकाहरुलाई नेपाल फर्काउन वेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले स्वदेश फर्काउन तयारी सुरु गरिएको जानकारी गराएको थियो । एक हप्ताअघिदेखि नै सरकारले विदेशमा बस्नै नसक्ने अवस्थामा पुगेका नेपालीलाई स्वदेश फर्काउने आश्वासन दिएको हो । तर कसरी, कहिलेसम्म र कस्ता–कस्ता व्यक्तिहरुलाई नेपाल फर्काउने भन्नेमा अझै टुंगो लागीसकेको छैन ।
कोरोना भाइरस प्रभावका कारण विभिन्न मुलुकमा रहेका झण्डै ६ लाख बढी नेपाली स्वदेश फर्किन चाहेका छन् । खाडी मुलुकमा ६ वटा देशमा १६ लाख नेपाली कामदार रहेका छन् । त्यसैगरी दक्षिण कोरिया, जापान, इरान, कतार, यूएई, मलेसिया, इजरायल, साउदी अरेबिया, कुवेतलगायतका देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाली कामदार प्रभावित भएका छन् ।
रोजगारी गुमाका ३० प्रतिशत र भिसाको अवधि सकिएका ६० प्रतिशत व्यक्तिले तुरुन्त घर फर्किन पाउनुपर्ने माग गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए ।
यता सरकराले भने त्यस्ता कामदारलाई स्वदेश फर्काउने तयारी भइरेको जवाफ दिएको एक हप्ता भइसक्यो । तर अहिलेसम्म उक्त तयारीको ठोस नतिजा देखिएको छैन ।
गत मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल सवैलाई नेपाल फर्काउन नसकिने धारण राखेका थिए । त्यसको लागि सरकारले आवश्यक तयारी गर्ने र केही समय लाग्ने बताइएको थियो । उनीहरुलाई नेपालमा ल्याएपछि स्वास्थ्य परिक्षण, क्वारेन्टाइनको व्यवस्था लगायतका बिषयमा पर्याप्त तयारी नहुँदा सरकारले स्वदेश ल्याउने आँट गर्न नसकेको हो ।




प्रतिक्रिया