Logo

बढ्दै छन् कोरोना जित्नेहरू



काठमाडौँ, १२ वैशाख । प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर, कोरोना युद्धलाई जितेर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ ।

नेपालगञ्जमा २१ जनाले कोरोनो जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार साँझ बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना सङ्क्रमित निको भएर घर फर्किए । यसअघि पनि यही अस्पतालबाट एकजना युवा निको भएर घर गएका छन् ।

सङ्क्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरू बढेपछि मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनीहरूलाई बधाइ दिएका छन् । २७० भन्दा धेरै सङ्क्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेको सङ्ख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या दुई रहेको छ ।

बढ्दै छ मनोबल
बुटवल समाचारदाता छविलाल पाण्डेका अनुसार शुक्रबार रूपन्देहीमा एकैपटक आठजनामा कोरोना सङ्क्रमण भएको समाचारले चिन्तित बनेका जिल्लावासी शनिबार साँझ एकैपटक १० जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएपछि खुसी भएका छन् ।

यो समाचारले मनोबल बढाउन मद्दत पुगेको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएपछि सबैमा मनोबल बढेको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई हप्ताअघि कोरोना अस्पतालको एकान्तवासमा भर्ना भएका बिरामी निको भएर शनिबार घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्