Logo

अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामु



काठमाडौँ, १२ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त भएको छ । रजिष्ट्रार माघ १२ गतेबाट र दुईवटा सङ्कायका डिन जेठ १ गतेबाट खाली छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशकजस्ता महत्वपूर्ण अधिकारी खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये एक जना विधिवतरुपमा रहेका छन् ।

विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि तत्कालीन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनलाई दैनिक कार्य व्यवस्थापन गर्नका लागि मात्र जिम्मेवारी दिइको हो । थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दीर्घकालीन महत्वको काम गर्न नमिलेको र रजिष्ट्रार नहुँदा आर्थिक र प्रशासनिक काममा समस्या देखिएको बताएका छन् । रजिष्ट्रार खाली हुँदा सापट लिएर कर्मचारीको तलब खुवाउनु परेको बताउँदै उनले अन्य विकास निर्माणका काममा अवरोध पुगेको बताएका छन् ।

आर्थिक वर्ष सकिन लागेकाले यस वर्षको हरहिसाब मिलानको काममा पनि समस्या हुने देखिएको छ । उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना बनाएर काम गर्नसक्ने भए पनि त्यसो हुन सकेको छैन । कामु अवस्थामा रहनुभएका थपलियाले जेठ १ गतेबाट रिक्त रहेको डिन पदमा सहायक डिनलाई कायम मुकायम नियुक्त गरेको बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्