Logo

कपिलवस्तुमा नर्ससहित ११ घर फिर्ता



चन्द्रौटा,१२ जेठ : कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।
गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताउनुभयो । उहाँलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना सङ््क्रमण देखिएको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्