Logo

लिम्पियाधुरा चाहिएको थियो भने आजसम्म किन सुतेको ? लक्ष्मणलाल कर्ण



काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नक्शाका लागि मात्र नभई नागरिकका लागि पनि हुनुपर्ने बताएका छन् । उनले मधेशी, जनजातिलगायतको अधिकारका लागि संविधान संशोधन अनिवार्य भएको बताएका छन् । उनीसँग यसै विषयमा एनआरएन रेडियोका लागि ऋषि धमलाले गरेको कुराकानीः
अब सर्वसम्मत ढंगले संविधान संशोधन हुन्छ ?
संविधान संशोधनको विषय हामीले धेरै पहिलादेखि उठाउँदै आएको हो । त्यसको लागि सय करोडौं मानिसले बलिदानी दिएको छ । हामीले उठाएका जुन छ बुँदाहरु छन् । त्यसमा मधेसी, जनजाति, थारु, मुस्लिम, दलित, उत्पीडित, महिलाको अधिकारका कुरा छन् । त्यसलाई समेटेर संशोधन किन नहुने ?
अहिलेको संविधान संशोधन त नयाँ नक्सा प्रयोजनको लागि हो नि ?
मान्छेको लागि होइन ? नक्साको लागि मात्रै जरुरी छ ?
होइन, नक्सा त हाम्रो मुटु हो, राष्ट्रियताको बारेमा त कसैले पनि सम्झौता गर्न सक्दैन नि ?
तपाईंको मुटु तपाईंको क्षेत्र, जग्गा र भोग हो । नक्सा त कागज हो ।
कागजमै भएपनि लिम्पियाधुरा समेटेर नक्सा त जारी भयो नि त्यो ठूला कुरा होइन ?
जारी त भयो तर तपाईंलाई पहिला लिम्पियाधुरा चाहिन्छ कि नक्सा चाहिन्छ ?
लिम्पियाधुरा चाहियो अनि नक्सा पनि चाहियो नि ?
हो, लिम्पियाधुरा चाहिएको हो भने आजसम्म सुत्नुभएको थियो । अब उठ्नुभयो त्यसको प्राप्ति कसरी हुन्छ ? कसरी लिनुहुन्छ त्यो जग्गा ? न तपाईंको भोगमा छ । त्यसले त्यसको लागि वार्ता गर्नुपर्यो । हाम्रो हो भने हाम्रो जग्गा कसैले पनि लिन पाउँदैन ।
आफ्नो जग्गा चाहिन्छ भने सबैले समर्थन गर्नुप¥यो अहिले संविधान संशोधन त नयाँ नक्सा जारी गर्नको लागि हो नि ?
नक्सा जारी गरेकोमा हामीले कहाँ बिमति जनाएको छ । सरकारले आफ्नो काम गर्छ गर्दै जाओस् । हाम्रो भनाइ के हो भने, नेपालको गुमेको जग्गा फिर्ता लिन सक्नुपर्यो । मिडिया, सडकमा जाने कराउने काम त लामो समयदेखि भइरहेको छ । तर, अहिलेसम्म जग्गा फिर्ता लिन सकेका छैनौं । त्यो जग्गा फिर्ता लिन न हिजो राणाहरुले सके, न राजाले सके, न कांग्रेसले सक्यो न त एमालेले नै लिन सकेको छ । सबैको हात एउटै छ ।
अहिलेको सरकार त अतिक्रमित जग्गा लिने तयारीमा छ नि त ?
जसले पनि खाली तयारी, तयारी भनेर मात्रै फिर्ता हुन्छ ।
अहिले लिम्पियाधुरासहित राखेर नक्सा छापिसकेको छ नि ?
त्यो ठीक हो मलाई पनि थाहा छ । तर, त्यो भूमि प्राप्ति कसरी गर्ने त ? त्यसको संसद्मा स्वयंम प्रधानमन्त्रीजीले के भन्नुभयो भने, ‘यो प्राप्तिको एक मात्र बाटो हो, कुटनीतिक वार्ता’ । अनि वार्ता एकपक्षीय हुन्छ कि दुईपक्षीय हुन्छ खोइ त त्यसको प्रयास । अनक रडाको गर्नुको साटो सारा शक्ति त वार्तातिर लगाउनुप¥यो । केवल जनतालाई अलमल्याउन काम मात्रै गर्नुभएन ।
तपाईं हाम्रो देशको राष्ट्रियताप्रति प्रतिबद्ध हुनुहुन्छ ?
तपाईंको राष्ट्रियता के मेरो राष्ट्रियता के भन्नुस् त ?
कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउनुपर्छ भन्ने बहसमा तपाईं कहाँ हुनुहुन्छ ?
तपाईंको साथमा छु ।
अनि अहिले लिम्पियाधुरा राखेर नक्सा जारी गर्दा तपाईंलाई के आपत्ति ?
कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो जग्गा हो । तर, त्यहाँ हामीले भोग गर्नुप¥यो । जुन बाटो खनिएको छ । बाटोको लागि दुई आधार हुन्छ चाहे त्यो व्यक्तिको होस् या राज्यको होस् । त्यसैले तथ्य, प्रमाणसहित हाम्रो हो भने सबैभन्दा ठूलो कुरा जग्गाको भोग हो । भोग कालन्तरमै टुटेको छ भने त्यसको प्राप्तिको लागि दुईवटा बाटा छन् । पहिलो वार्ता गर्ने र दोस्रोमा कब्जा गर्ने । कब्जा हामी गर्न सक्दैनौं भने त्यसको सही बाटो हो वार्ता । त्यसको लागि समष्टिगत ढंगले लाग्नुप¥यो नि ।
वार्ताको लागि त वातावरण चाहियो नि त्यो भारतले बनाउनुपर्दैन ? नेपालले तयार छौं भनिसकेको छ नि ?
दुवैपक्षले वार्ताको वातावरण बनाउनुपर्छ । नेपाल–भारतको युगौंयुगको सम्बन्ध हो । यो सम्बन्ध रोजीरोटीको छ, बेटीरोटीको छ, धार्मिक, सांस्कृतिक छ । यो भन्ने भारतमा पनि धेरै छन्, नेपालमा पनि धेरै छन् । त्यसैले वार्ता गर्ने वातावरण बनाउनुपर्छ । अहिले हामीले जुन काम गरिराखेका छौं । त्यसले वातावरण बनाउने होइन बिगार्ने काम हो । भारतका प्रधानमन्त्रीसँग वार्ता हुँदैन ? हुन्छ । त्यसको लागि प्रयास गर्नुप¥यो । त्यसको लागि ‘वान टू वान’ कुरा गर्नुपर्छ । त्यसको लागि दुवै पक्षबाट जुन स्तरको भएपनि कटिमिटी गठन गर्नुपर्छ । हामीले भारतमा मन्त्रीस्तरको राजदूत राखेका छौं । उनको काम के हो ? राजदूतको काम के हो ? पहिले राजदूतले वार्ता गर्ने हो । त्यसपछि उनले मिलाउन सकेनन् भने अनि राज्यसँग गर्ने हो । अनि हाम्रो जग्गा फिर्ता ल्याउने हो ।
त्यसको लागि त तपाईं हामी सबै मिल्नुप¥यो नि ?
खोइ तपाईंहरु मिलेको ? हाम्रा सैयौं मान्छेलाई टाउकोमा गोली हानेर मारेकै हो । आज पनि राजनीति गर्ने मान्छेहरुलाई जेलमा राखिएको छ । सयौं मान्छेहरु अहिले पनि घाइते र अपांग छन् । उनीहरु नेपाली जनता होइनन् ? नेपालमा मधेसमा मात्रै मान्दोलन भएको हो ? आजसम्म जति पनि मान्छेहरुले आन्दोलन गरेका छन् उनीहरुले माफी पाएका छैनन् ? त्यो हामीले किन नपाएको ? हामीसँग पनि संविधान संशोधनको लागि वार्ता गरेको होइन ? अन्तिममा आज नकपाभित्रका माओवादीहरुले हामीसँग सहमति पनि गरे । त्यसमा नेपाली कांग्रेस, राप्रपासमेत मिलेर चारबँुदे संशोधन पनि ल्याए । त्यो संसद्मा पुगेपछि फेल भयो । नेपाली जनताको रगत मिसिएको संविधानमा त्यो संशोधन किन अटेन ?
राष्ट्रियताको विषयमा कुनै अधिकार साटासाट हुँदैन है ?
मधेसी जनताले अधिकार पाउनु साटासाट हो ? उनीहरु नेपाली होइनन् ?
अहिलेको समस्याअनुसार संविधान संशोधनको पक्षमा तपार्इंंहरु हुनुहुन्छ कि हुनुहुन्न ?
राज्यले अहिले उठाएको विषयमा संशोधन गर्दा हाम्रो विषयलाई पनि राखेर गरोस् त्यसमा हामी साथ दिन्छांै ।
हृदयश त्रिपाठीले त अहिले नयाँ नक्सा प्रयोजनका लागि मात्रै संविधान संशोधन हुने हो भन्नुभयो नि ?
यदि संशोधनमै त्यो कुरा लेखिएको छ भने विलकुलै गलत हो । राज्यले यदि कसैसँग साथ हिड्न खोज्छ भने ऊसँग वार्ता गर्नुप¥यो कि परेन ? राष्ट्रिय सहमति चाहियो कि चाहिएन ? कि जबर्जस्ती लिने ?
प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसको त समर्थन छ नि संविधान संशोधनमा ?
नेपाली कांग्रेस के गर्छ त्यो उसैलाई थाहा होला । उसको नैतिक दायित्व त हाम्रो संविधान संशोधनसँग पनि छ । उसैको सरकारले प्रस्ताव ल्याएको हो । त्यसैलाई थपक्क राखेर अहिले पास गरिदिए त भैहाल्यो नि ।
त्यसोभए नयाँ नक्सा प्रयोजनको लागि मात्रै संविधान संशोधनमा तपाईंको पार्टी तयार छैन ?
नयाँ नक्साको मात्रै होइन । हामीले त समष्टिगत रुपमा सबै विवादित विषयलाई राखेर गरौं भनेको हो । नक्सा बनाउँदा पनि हामीहरुसँग छलफल गर्नुभएन । राज्यले त सहमति गर्नुपर्छ । उदार हुनुपर्छ, ठूलो मन गर्नुपर्छ । सरकारले अहिले संविधान संशोधन गर्नुछ भने अरु पार्टीसँग कम्तिमा एकपटक छलफल त गर्नुपर्छ होला नि ।
प्रधानमन्त्रीले संशोधन प्रस्ताव त संसद्मै प्रस्तुत गर्नुभएको हो नि ?
प्रधानमन्त्रीले कहाँ–कहाँ भाषण गर्नुभयो । उहाँको भाषण अरु पार्टीसँगको सहमति हो र ? सबैसँग राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्छ । त्यो नक्सा आज, भोलि नै पास हुने होइन । त्यसले अहिले नै केही बितेको छैन । आजको आवश्यकता राष्ट्रिय सहमति हो त्यो बनाएर मात्रै अगाडि जानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्