Logo

निरोगी नेपाल निर्माणको लागि प्रधानमन्त्री ओलीद्धारा पाँच कार्य गर्न आग्रह



काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गरेका छन् ।

उनले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न यसरी सुझाएका छन् :

– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

– कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ । नभुलौं, हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो । मानव जातिले सभ्यताको इतिहासमा असाधारण प्रतिकूलताहरूको सामना गरेको छ । हिम युगजस्ता अनेक कठीन समय पार गरेको छ । औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन महामारीहरूको सामना गरेर अघि बढेको छ । मैले पहिले पनि चर्चा गरेको छु– चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं ।

– सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । हाल कोरोना महामारी विरुद्ध सबै सामर्थ्य लगाउने र कोरोना मुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध छ ।

– नेपालीहरूको मनोबल उच्च छ र प्रतिरोध क्षमता पनि असाधारण छ । यस महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने मैले विश्वास लिएको छु ।

सबैमा सुस्वास्थ्यको कामना गर्दछु ।
धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्