Logo

प्रधानमन्त्रीले गरे कर र कर्जाको ब्याज सहुलियतसहित राहतको प्रतिवद्धता



काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रमा राहतको व्यवस्था गरिने बताएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै औद्योगिक व्यवसायिक क्षेत्रका लागि राहत सुविधानको व्यवस्था गरिने बताएका हुन् ।

उनले भने, ‘कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने उनको भनाई छ ।’

निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको भन्दै शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने खुलाए।

अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने बताए । ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने समेत बताए। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र गृह मन्त्रीको नेतृत्वमा रहेको प्राकृतिक विपत्ति राहत कोषसमेतमा रहेको रकमको महत्वपूर्ण हिस्सा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने बताए।

विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फकिएको र नेपालमा कार्यरत विदेशी श्रमिकहरु पनि ठूलो संख्यामा आ–आफ्नो देशमा फर्केको या फर्कने अवस्था रहेको भन्दै मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर, विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई उपलब्ध गराइने बताए ।



प्रतिक्रिया दिनुहोस्