Logo

एसइइ परीक्षाको विकल्प तयार हुँदै, विद्यालयको पठनपाठन ‘भर्चुयल कक्षा’ बाट शुरु गरिने



काठमाडौं, १२ जेठ । सरकारले एइइका परीक्षार्थी विद्यार्थीहरुको सिंगो शैक्षिक वर्ष खेर जान नदिने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउन कानुन नै संशोधन गर्न लागेको बुझिएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले आवश्यक प्रबन्ध मिलाइने बताए । उनले त्यस्तो प्रबन्ध के हो भनी नखुलाएपनि सरकारले नियमावली संशोधन गरी यसवर्षबाट एसइइको विकल्प निकाल्न लागेको छ । विश्वस्त स्रोतका अनुसार एसइइलाई कक्षा १० मानेर विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने गरी अर्को वर्ष प्रबन्ध गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।

प्रधानमन्त्री ओलीले आजको सम्बोधनमा भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन । तसर्थ, एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ ।’

यसैगरी, प्रधानमन्त्री ओलीले नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन पाठन सञ्चालन गरिने बताएका छन् । यसका लागि नीतिगत व्यवस्थासहित शिक्षा मन्त्रालयले भर्चुयल कक्षाको समेत प्रयोग गर्न लागेको खुलाए । उनले भने, ”आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठन-पाठन सञ्चालनको काम अघि बढाउनेछ ।”

नेपालमा विद्यालय तहमा अनलाइन शिक्षाको नीतिगत व्यवस्था नभएकाले सरकारले नियम बनाउन लागेको छ । योसँगै देशभरका विद्यालयहरुमा अनलाइन, दुर शिक्षा प्रणाली अन्तर्गतको पठनपाठन शुरु गरिनेछ ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएकाले विद्यालयलगायत शैक्षिक संस्थाहरु दुई महिनायभन्दा बढी समय बन्द छन् । यसले लाखौं विद्यार्थी प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot