Logo

संक्रमित बढेपछि कन्ट्रयाक्ट ट्रेसिङ चुनौति बन्दै



जेठ १२, काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिन थालेको छ । नियन्त्रणका लागि संक्रमितसँग भेटेका वा सम्पर्कमा पुगेका व्यक्तिहरुको खोजी कार्य महत्वपूर्ण मानिन्छ । संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको खोजी गरिने कन्ट्रयाक्ट ट्रेसिङ विधि पनि चुनौतिपूर्ण बन्दै जाने देखिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा उत्तम उपाय हो संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ । कुनै एक व्यक्ति संक्रमित भएको पुष्टि भएपछि उक्त व्यक्तिले अरु कसकसलाई भेट्यो वा सम्पर्कमा पुग्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले नेपालमा यही विधिबाट संक्रमितको पहिचान भइरहेको छ । तर दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा ट्रेसिङ गर्न कठीन हुने संकेत देखिएको छ । नेपालमा संक्रमितको संख्या ७ सय नजिक पुग्दासम्म कन्ट्रयाक्ट ट्रेसिङको काम प्रभावकारी भएको जनस्वास्थ्यका जानकारहरुले बताएका छन् । तर आगामी दिनमा जोखिम र चुनौति बढ्ने भएकाले सरकारले बेलैमा तयारी गर्नुपर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित बताउँछन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने भएकाले कोरोना भाइरस नेपालमा पनि धैरैमा फैलिएको छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि सरकारले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेको छ । व्यक्ति –व्यक्ति हुँदै समुदाय र देशभर नै फैलिन सक्ने भएकाले संक्रमित व्यक्तिसँग भेटेकाहरुलाई खोजेर बेलैमा परिक्षण गर्नु अत्यन्त जरुरी मानिन्छ । सरकारले विज्ञहरुसँग छलफल गरेर इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउने काम अघि बढाएको थियो ।

एप्पल र गुुगलको साझेदारीमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टुल ल्याएर संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुुुरक्षित राख्ने काम गरिएको छ । संक्रमितहरुको सम्पर्कमा आएका संक्रमणको सम्भावित जोखिममा रहेकाहरुलाई यसले नोटिफिकेसन दिने काम गर्दछ । अहिले कन्ट्रयाक्ट ट्रेसिङका लागि सरकारले ठूलो टिम खटाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.बासुदेव पाण्डे बताउँछन् ।

कुनै पनि नेपालीमा कोरोना पोजेटिभ देखिएको छ भने त्यो व्यक्ति कहाँ बस्छ । उसको नजिको को छ । घर कहाँ हो अनि त्यो व्यक्तिसँग को–को रहेका छन् भन्ने सबै निगरानी ट्रेसिङले काम गर्दछ । ट्रेसिङका क्रममा नागरिकले जानकारी सहित आफ्नो नाम, उमेर, लिंग, विस्तृत ठेगाना सहितको विवरण दिनुपर्ने हुन्छ । यसरी ट्रेसिङ गर्दा सम्बन्धित व्यक्तिले सहयोग गरेन भने कोरोना संक्रमण फैलिने सम्भावना अत्याधिक हुन्छ । त्यसैले ट्रेसिङ कार्यमा सबैले सहयोग गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्