Logo

करिब ५२ हजारको पिसीआर परिक्षण, आरडिटी एक लाख नजिक



Coronavirus Testing

जेठ १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ४६ हजार ८ सय ३४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ५१ हजार ६ सय ४२ जनाको पिसीआर परीक्षण र ९५ हजार १ सय ९२ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ८ हजार ७० वटा परीक्षण भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा करिब १ हजार ४ सय धेरै हो ।

अहिलेसम्म प्रदेश एकमा १०८२७, प्रदेश दुईमा ६४६८, बागमति प्रदेशमा २३३१३, गण्डकी प्रदेशमा ७७०१, प्रदेश पाँचमा १६२१५, सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० र कर्णाली प्रदेशमा १००५८ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ४६ हजार ३९ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ८ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब २० हजार ४ सय ६३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो २४ घण्टामा क्वारेन्टाइनमा करिब ६ हजार जना थपिएका छन् ।

सोमबार साँझ ५ बजेसम्म प्रदेश एकमा ६०, प्रदेश दुईमा २०१, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा २५६, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ४९ हजार ९ जना पुगेको छ । रेडजोनमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ गर्ने काम इपियोडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।

अहिलेसम्म एप्स र वेवसाइटमा स्वमूल्याङ्कन गरेर रेडजोनमा परेकाहरुमा कोरोना पोजेटिभ भेटिएको छैन । अहिले देशभरका २० वटा प्रयोगशालाबाट कोरोना भाइरस परिक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्