Logo

रुकुम हत्याकाण्डः जातीय असहिष्णुताको पराकाष्ठा



टिकाराम सुनार: बुहारी ल्याउँछु भनेर हिँडेको छोरो,

बुहारी भित्राउनका लागि संगालिएका ती सपना,

आमा उर्मिला विकको खुशीमा थप खुशी थप्न जम्मा भएका ती छिमेकी,

तर, छोरो र बुहारी होइन नवराज र उनका साथीको लाश आउने अवस्था,

जन्ति गएका साथीहरुमध्ये केहीले ज्यान गुमाउने र केही मलामी बनेर आउने त्यो समय !

परिकल्पना गर्नुस् त एकफेर ! सुन्दा कुनै फिल्मको कथाजस्तो लाग्ने यो घटना हो शनिबार रुकुम पश्चिममा भएको नवराज विक हत्या काण्डको ।

एउटा युवतीसंगको प्रेमलाई छुटाउन उनका प्रेमीसंगै करिब आधा दर्जनको हत्या गरिएको त्यो दिन र त्यो रुकुमपश्चिम चौरजहारी–८ सोती । यो घटनाले नेपाली समाजलाई गिजोलिरहेको छ यतिबेला ।

अन्तरजातीय प्रेम र विवाह ‘बर्जित’ छ नेपालमा । त्यहीं नाममा योभन्दा पहिले पनि हत्या नभएका होइनन् तर तर त्यो समय र सन्दर्भबाट धेरै अगाडी बढेसकेको भान हुन्थ्यो अहिलेको समाज । अहँ त्यही जातकै कारण चौजहारीमा ठूलो संख्यामा हताहती भएको छ । त्यो बर्बरता नेपाली इतिहासको कालो दिन हो भन्दा पनि अतिशयोक्ति नहोला ।

विभिन्न माध्यमहरुबाट थाहा भएअनुसार जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी १९ वर्षिया मल्ल थरकी युवतीसंग तीन वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न खोजेका थिए ।

नवराजको गल्ति थियो, थर नमिलेका कारण युवतिका अभिभावकको अस्वीकृतिलाई सामान्य रुपमा लिनु । त्योभन्दा ठूलो गल्ती युवतिले आफ्ना अभिभावकको क्रुरतालाई समयमै चिन्न नसक्नु थियो । त्यही गल्तीले अब कहिल्यै नफर्किने गरी नवराजको ज्यान गएको छ ।

उनीसंग सहयोगीका रुपमा गएकामध्ये ५ जना बेपत्ता छन् । एकजना टिकाराम सुनारको शव भेटिएको छ । बेपत्ता रहेकाहरुलाई कुटपिट गरी भेरी नदिमा बगाइएकोले अहिलेसम्म अवस्था अज्ञात छ । जाजरकोटबाट युवासंग बेहुली लिन भनि गएका १२ जना प्रहरीको शरणमा छन् ।

यसअघि केटाले केटी पक्षलाई औपचारिक रुपमा विवाहका लागि आग्रह गर्दा जात नमिलेकाले अस्वीकार गरेको र त्यो कुरा त्यहाँको प्रहरीलाई पनि जानकारी रहेको बुझिन आएको छ ।  यो सबै केलाउँदा प्रेमलाई विवाहमा परिणत गर्ने युवायुवतीको चाहनामा ‘जात’ तगारो बनेको छ ।

त्यहीं जातको जगमा बनेको सामाजिक मनोविज्ञान र त्यसले निम्त्याएको बिकृत सोचले नवराज र उनको साथीको हत्या गर्ने अवस्थामा पु¥याएको छ ।

रुकुमको मुखुण्डो

माओवादीले २०५२ देखि सुरु गरेको जनयुद्धको उद्गमस्थल मानिन्छ रुकुमलाई ।

वर्ग संघर्ष र देशबाटै जातमा आधारित व्यवस्था, सबै किसिमका विभेद र तहगत असमानताहरुको अन्त्य गर्छौ भनेर गरिएको त्यो दशवर्षे युद्धमा होमिएको रुकुम, त्यही नारामा लठ्ठिएर हजारौलाई युद्धमा होमिन उत्प्रेरित गरेको त्यो समय,
त्यही नारालाई पत्याएर उपेक्षित, उत्पीडित, दलितहरुले सबैभन्दा बढी निशर्त रगत दिन तयार भएको त्यो कालखण्ड, तर, त्यो युद्धका डोबहरुमा टाँटा नलाग्दै त्यही भूमीमा जात, अन्तरजातीय प्रेम र विवाह बर्जित मात्रै होइन कति असहिष्णु छ भन्ने नाङ्गो उदाहरण शनिबार प्रदर्शन भएको छ ।  त्योभन्दा महत्वपूर्ण कुरा त्यही भूमीको शाहसले आर्जेको शक्तिले राज्यसत्तामा नेकपा अर्थात तत्कालिन माओवादी समूह पनि छ ।

जनयुद्धको रगतमा लत्पत्तिएको संघीयता र गाउँगाउँमा गएको सिहंदरबार अर्थात रुकुम पश्चिमका अधिकांश स्थानीय तहमा तत्कालिन माओवादी पक्ष छ । चौरजहारीको वडाध्यक्षमा त्यही पक्ष छ । तर, त्यही भूमीमा हिजोको त्यो वर्ग संघर्ष र जातीय व्यवस्था अन्त्यको नारा नाकाम र अस्वीकृत भएको छ ।

कानुनी राज्यको उपहास

समाजमा विवाहका आफ्नै मान्यता छन् । तथापि अहिलेको भूमण्डलीकृत विश्वमा नेपालमा मात्रै होइन त्योभन्दा पर गएर अरु विश्वका र नेपालीकाबीच विवाह हुने अभ्यास सुरु भइसकेको छ ।  नेपालमा पनि एकाध अन्तरजातीय विवाह परिवारकै समझदारीमा नभएका पनि होइनन् । र, केटाकेटीको समझदारीपछि गरिएका अन्तरजातीय विवाह परिवारले स्वीकारेका उदाहरण पनि तमाम् छन् ।

तर, रुकुम पश्चिममा त्यति बर्बबरताको अवस्था कसरी आयो ? के हत्या नै अन्तिम विकल्प थियो ? केटीका आफन्तमा भएको आक्रोसको आगोमा गाउँलेहरुले किन घ्यू थपे ? आक्रोसितहरुलाई सम्झाउनुको सट्टा स्वयम् वडाध्यक्ष नै घटनाको मतियार किन भए ?

यी प्रश्नका जेसुकै उत्तरहरु आए पनि जात, प्रेम या विवाह कुनै पनि बहानामा मान्छे मार्न पाइदैन । यस्तो कु्ररता, उदण्डता र बर्बरता कानुनी शासनको ठाडो उपहास हो । मानवीय संवेदनाहिनताको चरम पराकाष्ठा हो ।  देशमा सामावेशी लोकतन्त्रमा आधारित गणतन्त्र छ । गाउँगाउँमा सिंहदरबार छन् । पटक पटक देशलाई जातीय छुवाछुत मुक्त भनेर घोषणा गरिएको छ । अस्ति नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब छुवाछुतमुक्त देश भनेर कुर्लेको आवाज कानमा अहिले पनि गुञ्जिरहेकै छ ।

यस्तो अवस्थामा फेरि पनि यो वा त्यो बहानामा विभेदका घटना बढिरहेकै छन् । २०७३ साल असार २९ गते प्रेम विवाहकै कारण हत्या गरी अहिलेसम्म पनि त्रिवि शिक्षण अस्पतालमा न्याय खोजिरहेको अजित मिजारको लासलाई लाज लागिरहेको होला तर हामीलाई लागेको छैन ।

यसअघि प्रेम सम्बन्ध, अन्तरजातीय विवाहलगायतका कारण हत्या गरि न्याय नपाएका सप्तरीका शिवशंकर दास, दैलेखका सेते दमाई, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीको आत्माले कति सरापिरहेको होला ?

यसर्थ, रुकुम पश्चिममा जातीय अहंकारले निम्त्याएको बर्बरता एक प्रतिनिधिमुलक घटना हो । अहिले पनि नेपाली समाज जात र त्यसमा आधारित कार्य र सम्बन्धमा संयम बन्न सकेको छैन । चौरजहारी घटनाले प्रतिविम्बित गरेको जातीय असहिष्णुताको पराकाष्ठालाई समयमै चिनेर राज्य, सचेत वर्ग र विशेष गरी गैरदलित समुदायका अगुवाहरुले त्यसविरुद्ध सशक्त आवाज उठाउन अपरिहार्य छ । कम्तिमा कुनै पनि बहानामा मान्छे मार्न पाइदैन भनेर एक स्वरमा भन्न जरुरी छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्