Logo

महाकाली सन्धीको पक्ष र विपक्षमा मतदान गर्ने तत्कालिन एमाले नेताहरुको अवस्था



काठमाडौं, १३ जेठ । भारतसँग २०५३ सालमा भएको महाकाली सन्धी तत्कालिन नेकपा एमाले फुटको कारण बनेको थियो । एउटा पक्षले महाकाली सन्धीलाई राष्ट्रहित भन्यो । अर्को पक्षले राष्ट्रघात भन्यो ।

महाकाली सन्धी संसदबाट पारित गर्नुपर्ने पक्षमा तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालका अलावा हालका प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली लागेका थिए । ओलीले महाकाली सन्धीबाट देशलाई वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी लाभ मिल्ने सार्वजनिक रुपमै बोलेका थिए । माधव र ओली गुटले सन्धीको पक्षमा जानुपर्ने अडान लिर्दै एउटा गुटको नेतृत्व गरेका थिए ।

महाकाली सन्धीको विपक्षमा जाने गुटको नेतृत्व हालका नेकपा उपाध्यक्ष बामदेव गौतमले गरेका थिए । गौतमले सन्धीको विपक्षमा आफूलाई प्रस्तुत गर्दै पार्टी विभाजन गरी नेकपा माले गठन गरेका थिए ।

महाकाली सन्धीको पक्षमा मतदान गर्ने मध्येका माधवकुमार नेपाल, केपी शर्मा ओली र झलनाथ खनाल देशको प्रधानमन्त्री भइसकेका छन् । जसमध्ये ओली दुईपटक प्रधानमन्त्री बन्न सफल भए । उनी तत्कालिन नेकपा एमालेको अध्यक्ष हुँदै एकीकरणपछि नेकपाको अध्यक्ष समेत बनेका छन् ।

पक्षमा मतदान गर्ने मोदनाथ प्रश्रित राजनीतिबाट सन्यास लिइसकेका छन् । उनी लेखन क्षेत्रमा सक्रिय छन् । गुरु बराल राजनीतिमा पछि परिसकेका छन् । केशब बडाल नेकपा स्थायी समिति सदस्य छन् । मुकुन्द न्यौपाने पनि राजनीतिमा विस्तारै पछि परिसकेका छन् । प्रदीप नेपाल राजनीतिमा निष्कृय छन् । उनी सामाजिक सञ्जालमा बढी सक्रिय छन् ।

ईश्वर पोखरेल तत्कालिन नेकपा एमालेको महासचिव हुँदै हाल नेकपाका सचिवालय सदस्य छन् । उनी वर्तमान उपप्रधान तथा रक्षामन्त्री हुन् ।
पक्षमा मतदान गर्ने सीतानन्दन रायको निधन भइसकेको छ । जीतेन्द्र देव मधेश केन्द्रित दल हुँदै नेपाली काँग्रेसमा पुगेका छन् । सलिम मियाँ अन्सारीले पनि एमाले परित्याग गरेका थिए । उनको पनि निधन भइसकेको छ । चितवनका काशिनाथ अधिकारी प्रदेश ३ को नेकपा कमिटिमा छन् । सुरेन्दै पाण्डे नेकपा स्थायी कमिटि सदस्य छन् । उनी अर्थमन्त्री समेत बनेका थिए । देवराज घिमिरे प्रदेश १ नेकपाको नेतृत्वमा छन् र गोविन्द कोइराला राजनीतिमा पछि परेका छन् ।

रोचक पक्ष यो छ कि महाकाली सन्धीको विपक्षमा मतदान गर्ने कोही पनि प्रधानमन्त्री बन्न सकेनन् । धेरै नेता राजनीतिमा पछि परे । वामदेव गौतम उपप्रधानमन्त्री र गृहमन्त्री बनिसकेका छन् । उनी नेकपा उपाध्यक्ष छन् र प्रधानमन्त्रीको दौड छाडेका छैनन् ।

सीपी मैनाली नेकपा माले खोलेर बसेका छन् । उनी उपप्रधानमन्त्री सम् मबने । साहना प्रधानको निधन भइसकको छ । उनी एकपटक उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिन् ।

अमृत बोहरा अनुशासन कमिटिमा रहँदै आएका छन् । तुल्सिलाल अमात्यको निधन भइसकेको छ । त्रिलोचन ढकाल राजनीतिमा पछि परे । युवराज ज्ञवाली माधव नेपाल निकट छन् र नेकपा स्थायी कमिटि सदस्य हुन् ।

सिद्धिलाल सिंह वृद्ध भइ सक्रिय राजनीतिबाट विश्राम लिइसकेका छन् । उनी एकपटक मन्त्री बनेका थिए । विपक्षमा मतदान गर्ने मध्येका विष्णु पौडेल नेकपा महासचिव छन् ।

प्रेमसिंह धामीको निधन भइसकेको छ । केशवलाल श्रेष्ठ, वाचस्पति देवकोटा, कमल चौलागाईं राजनीतिमा पछि परिसकेका छन् । अशोक राई एमाले त्यागेर हाल जनता समाजवादी पार्टीमा छन् । किरण गुरुङ गण्डकी प्रदेशमा नेकपाका प्रभावशाली नेता मानिन्छन् । तर, गोपाल शाक्य हराए ।

त्यतिबेला तटस्थ बसेका तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी देशको प्रधानमन्त्री बने । उनको निधन भइसकेको छ ।
राजेन्द्र श्रेष्ठ र अष्टलक्ष्मी शाक्य पनि तटस्थ बसे । श्रेष्ठ जनता समाजवादी पार्टीमा छन् । अष्टलक्ष्मी शाक्य स्थायी कमिटि सदस्य छिन् ।



प्रतिक्रिया दिनुहोस्