Logo

भारतसँगको सिमा विवादको समाधान चाँडै हुन्छ, वार्ताको विकल्प छैन् : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमा विवाद समाधानको लागि सकेसम्म चाँडो वार्ता र समस्याको हल गर्न आफुहरुले चाहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,’सिमा समस्या समाधानको लागि भारतसँग वार्ता गर्नुपर्छ । वार्ता प्रधानमन्त्रीको लेभलमा पनि हुनसक्छ, वार्ता सचिवस्तरीयपनि हुनसक्छ । वार्ता ट्याक वानमात्रै होईन, ट्याक टुमा पनि हुनसक्छ । कुटनीतिक रुपमा समस्याको समाधान गर्नुपर्छ ।’

भारतले सिमा विवाद समाधानको लागि वार्ता अस्विकार गर्यो भने तपाईहरुको विकल्प के हुन्छ ? भन्ने धमलाको प्रश्नमा उनले भने,’दुई देशबीचमा वार्ताको प्रक्रियाबाट अघि बढ्दैछौं । अहिले हामी पहिलो सिँढीमा टेक्दैछौं । हामीले पहिलो टेकामा नटेकीकन अन्तिम टेकामा टेक्न खोज्नुहुँदैन् । हाम्रो पहिलो काम भनेको सौहार्दपूर्ण वार्ता हो । एकदमै तथ्यपरक ढंगले वार्ता गर्ने हो । हामीले मैत्रीपूर्ण वार्ता गर्नुपर्छ । हामीले मैत्रीपूर्ण रुपमा यो समस्यालाई समाधान गर्न कोशिस गर्नुपर्छ । भारत हाम्रो मित्र हो । हाम्रो छिमेकीपनि हो । हामी चेन्ज गर्न सक्दैनौं । न उहाँहरुले हामीलाई चेन्ज गर्न सक्नुहुन्छ ? हामी त सदासदाको लागि मित्र भएर बस्नुपर्यो नि । त्यसकारण यी समस्याहरु समाधान गरौं भनेर दृढतापूर्वक भन्नुपर्छ । र, सकेसम्म हामीले यो कुटनीतिक वार्ताबाटै यो हल गर्नुपर्छ । यसबाट समस्या समाधान भए भने हामीसँग अरु विकल्प खुल्ला छन् ।’

यद्धपी उनले भारत वार्ताको लागि तयार हुने विश्वास दिलाए । उनले भने,’भारत एउटा लोकतान्त्रिक मुलुक हो । उसले त्यसरी हेपाहा भएर चल्न मिल्दैमिल्दैन् । उसले अरु ढंगले आक्रामक ढंगले जानपनि मिल्दैन् । त्यहाँपनि जनता छन् । जनताले बुझ्छन् । विशेषज्ञहरु छन्, उनीहरुले बुझ्छन् । अहिले वार्ता हुनुभन्दा अगाडि आफ्ना आफ्ना अडान त जसले पनि राख्न सक्छ नि । भारतले पनि आफ्नो अडान राखेको होला । भोलि टेबुलमा तथ्यहरु प्रस्तुत गर्नुपर्यो । त्यो टेबुलमा नेपालले प्रस्तुत गरेका तथ्यहरुलाई काट्ने प्रमाण रहेछन् भने हामीपनि मान्छौं । ईण्डियाकै हो भन्ने तथ्य रहेछन् भने हामी त्यसलाई मान्छौं । तर, हामीसँग अहिले जुन प्रमाण र तथ्य छन्, त्यसले यी भूभाग नेपालको हो भन्ने प्रमाणित गर्छ । हामीसँग यथेष्ट र प्रचुर प्रमाण छन् ।’



प्रतिक्रिया दिनुहोस्