Logo

जबसम्म नेकपाले संस्थागत रुपले निर्णय गर्दैन्, तबसम्म यो धर्तीका कुनैपनि शक्तिले एमसिसी पास गर्न सक्दैन् : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल अत्यन्तै अस्थिर भएको बेलामा र सबै पक्षसँग छलफल नगरी एमसिसी सम्झौता भएकोले नेपालमा यो सर्वाधिक विवादको सम्झौता बनेको स्पष्ट पारेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अघि भने,’यो सम्झौतामा नलेखिएपनि एमसिसी ईण्डो प्यासिफिक स्टाटेजीकै एउटा अंग हो भनेर अमेरिकी नेताहरुले पटक पटक बोलिरहेका छन् । यसलाई हामीले बेवास्ता गर्न सक्दैनौं । दोस्रो कुरा भनेको एमसिसी सम्झौताकै धेरै प्रावधानहरु आपत्तिजनक छन् । अपमानजनक छन् । नेपालको सार्वभौमसत्तामाथि प्रश्न उठ्ने खालका छन् । त्यसो हुनाले हाम्रो पार्टीले गम्भिर रुपमा बहस गरेको छ । केन्द्रिय कमिटीको दोस्रो बैठकले कार्यदसमेत बनायो । कार्यदले एउटा रिपोर्ट दिएको छ । त्यो रिपोर्टको बारेमा पार्टीले अहिलेसम्म छलफल नै गरेको छैन् । पार्टीले छलफल नै नगरी यो पारित हुने कुराको त कल्पनै नगर्नुहोस् ।’

जबसम्म नेकपाले के गर्ने भन्नेबारे एउटा टुँगोमा पुग्दैन त्यतिबेलासम्म कसैले भनेर यो पास वा फेल नहुनेपनि उनको दाबी छ । उनले थपे,’कमरेड केपी शर्मा ओली नेकपाको अध्यक्ष हो । नेकपाको सर्वेसर्वा होईन । उहाँले जे बोल्यो त्यही हुन्छ भन्ने कुरा छैन् । उहाँले बोल्ने कुरापनि पार्टीको एउटा भ्वाईस हो । पार्टीको एउटा भ्वाईस होला । पार्टीका विभिन्न कमरेडहरुको भ्वाईस होला । तर, यो पार्टीको भ्वाईस भनेको केन्द्रीय कमिटीको भ्वाईस हुन्छ । स्थायी समितिको भ्वाईस हुन्छ । सचिवालयको भ्वाईस हुन्छ । अहिलेसम्म कार्यदलको रिपोर्टमा खोई छलफल गरेको ? सबभन्दा पहिला प्रधानमन्त्रीले यो छलफल गराउनुपर्दैन् ? पार्टी कमिटीमा राखेर छलफल गराउनुपर्दैन् ? त्यसबारेमा निर्णय गराउनुपर्दैन् । पार्टीको निर्देशनबिना उहाँले पास गराउँछु भनेर पास हुन्छ ? पास हुँदैन् । त्यसो भएको हुनाले जबसम्म नेकपा नामको यो गौरवमय पार्टीले संस्थागत रुपले निर्णय गर्दैन्, तबसम्म यो धर्तीका कुनैपनि शक्तिले यो पास गर्न सक्दैन् ।’

उसो भए प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेरपनि एमसिसी पारित हुनसक्दैन त भन्ने धमलाको अर्को प्रश्नमा उनले भने,’कसैले चाहेरपनि हुँदैन् । नेकपाले चाहनुपर्छ । नेकपाले चाह्यो पास हुन्छ । नेकपाले चाहेन, पास हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्