Logo

ओलीलाई देउवाको सुझाव : “सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्नुहोस”



काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।

उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरे । “सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ”, पूर्वप्रधानमन्त्री देउवाले भने ।

उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए। उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर समेत विमोचन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्