Logo

मर्यादित महिनावारीको देश बनाइने



काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वमाझ मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउने घोषणा गरेका छन् ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित ‘लैङ्गिक हिंसा र मर्यादित महिनावारी’को भूमिका विषयक भर्चुअल बैठकमा उक्त घोषणा गरिएको हो । मन्त्री गुरुङले छाउगोठ जस्तो सामाजिक कलङ्क भइरहने नेपाललाई मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली निर्माणको काम तीव्र बनाएको पनि स्पष्ट पारेका छन् ।

यस अगाडि जेठ १३, १४ र १५ गते ‘मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी’ गर्ने तय भएको थियो । कोरोनाका कारण सिर्जना भएको स्थितिले उक्त गोष्ठी स्थगित गर्नुपरेको उल्लेख गर्दै उनले समाजमा विद्यमान सबै खालका विभेद, विकृति र विसङ्गति अन्त्य गर्न सरकारले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर सामाजिक अभियान सञ्चालन गर्ने बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्