Logo

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव



काठमाडौँ, १४ जेठ । खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालबीच नेटवर्कमा गठित समितिले दिक्तेलबजारस्थित माटीकोरे कभर्डहलस्थित क्वारेन्टिनको अनुगमन गरेको हो । मङ्गलबार बिहान गरिएको अनुगमनको क्रममा पर्याप्त शौचालय ९चर्पी० नभएको पाइएको समितिका संयोजक पूर्णमाया तामाङले बताएका छन् । तीन महिलासहित १९ जना रहेको क्वारेन्टिनस्थलमा महिला र पुरुषका लागि एक–एक गरी दुई मात्र चर्पी रहेको पाइएको संयोजक तामाङको भनाइ छ ।

महिला र पुरुषका लागि एउटै हलमा त्रिपालको बार लगाइ दुई कोठा बनाइएको छ । उक्त क्वारेन्टिनमा ३६ श्यया रहेका छन् । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम क्वारेन्टिनमा बस्ने तीन व्यक्ति बराबर एक चर्पीको व्यवस्था हुनुपर्ने उल्लेख छ । यसैबीच अनुगमन समितिको मङ्गलबार बिहानै बसेको बैठकले जिल्लास्थित १० वटै स्थानीय तहका मानवअधिकार अवस्था अनुगमन गर्ने निर्णय गरेको छ ।

सात सदस्यीय समितिले वर्तमान जटिल परिस्थतिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भइरहेका कार्य, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताका अधिकारलगायतका अवस्थाको अनुगमन गर्ने जनाइएको छ । अनुगमन समितिले अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकका कर्तव्यलगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारका अवस्थाको अनुगमन गरी स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयमा तथ्य तथा सूचना सम्प्रेषण गर्ने जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टिन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्डविपरीत रहेको गुनासो आएको छ । जनप्रतिनिधिले होम क्वारेन्टिन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टिनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । क्वारेन्टिन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्