Logo

सूर्य-समय



मोमिला

यदि सूर्य नै सुख हो भने पनि
निश्चय नै ऊ साँझमा त डुब्छ
तर, भोलिको सूर्य
आजै झोलामा बन्द गर्न सक्तिनँ !

यदि सूर्य नै दु:ख हो भने पनि
आजैबाट सूर्य वहिष्कार गरूँ
———————-
अहँ, त्यो पनि सक्तिनँ !

यतिखेर मेरो दृष्टिको उज्यालोमा
टा…ढा कोही
अँध्यारोमा हिँड्न अभ्यास गरिरहेछ
बत्ती निभाएर उज्यालो सोचेजस्तो ऊ
नदी किनारमा
नदीसँगै बगिरहेछ।

…र दिग्भ्रमित म
ऊसँगै सचेत हिँडू भनी
दौडेर बल्ल उसको प्रारम्भ बिन्दुमा पुगेँ
तर म त्यहाँ पुग्नुअघि नै
ऊ त्यत्ति नै अगाडि पुगिसकेछ
आखिर ऊ ‘समय’ थियो
मैले बहिष्कार गर्न नसकेको सूर्य
आखिर ‘ऊ’ नै थियो !
————————
हत्केलाले छेक्न नसकेको सूर्य !
र झोलामा बन्द गर्न नसकेको सूर्य !!
आखिर ‘ऊ’ स->म->य थियो ।



प्रतिक्रिया दिनुहोस्