Logo

चैतकै तलब पाएनन् मजदुरले



काठमाडौँ, १५ जेठ । बन्दाबन्दीपछि उद्योग तथा प्रतिष्ठानमा कार्यरत ६९ प्रतिशत श्रमिक तथा कर्मचारीले चैत महिनाकै तलब पाएका छैनन् ।

तथापि सरकारले बन्दाबन्दीको अवधिलाई सार्वजनिक बिदा घोषणा गरेर उद्योग प्रतिष्ठानमा कार्यरत सबै श्रमिकलाई पूरै तलब दिन रोजगारदाता प्रतिष्ठानलाई निर्देशन दिएको छ । नेपाल टेड युनियन महासङ्घ (जिफन्ट)ले कोभिड १९ का कारण श्रमिकमा परेको समस्याको सम्बन्धमा गरेको द्रुत सर्वेक्षणले यस्तो देखाएको हो ।

सो सर्वेक्षण प्रतिवेदनअनुसार देशका विभिन्न ठाउँमा सञ्चालित ३२३ वटा उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा श्रमिकसँग बुझ्दा ३१ प्रतिशतले मात्रै पारिश्रमिक प्राप्त गरेको पाइएको जनाइएको छ । प्रतिवेदनअनुसार ती प्रतिष्ठानमा काम गर्नेमध्ये ७.४३ प्रतिशतले आंशिक भुक्तानी पाएका छन् भने झन्डै १३ प्रतिशतले पेस्कीका रूपमा पारिश्रमिक प्राप्त गरेका छन् । ती प्रतिष्ठानले उपलब्ध गराएको पेस्कीबापत दिएको रकम पारिश्रमिकभन्दा कम भएको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)मा आबद्ध पदाधिकारीले सञ्चालन गरेका उद्योग प्रतिष्ठानमध्ये ४२ प्रतिशतले चैतको पारिश्रमिक दिएका छैनन् । त्यसो त (एफएनसीसीआई)ले सरकारसँँग चैत महिनाको पारिश्रमिक नरोक्ने भन्दै एक महिनाअघि नै प्रतिबद्धता जनाएका थिए । सरकारले केही दिन पहिले श्रमिक अप्ठ्यारो अवस्थामा रहेको भन्दै उद्योगी वा रोजगारदातालाई वैशाखको ५० प्रतिशत पारिश्रमिक अहिले भुक्तानी गर्न र बाँकी ५० प्रतिशत उद्योग खुलेपछि दिन भन्दै निर्देशन दिएको छ तर अधिकांशले चैतकै भुक्तानी पाएका छैनन् ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारमा रहेकामध्ये २।४६ प्रतिशत श्रमिक कोभिड १९ का कारण पूर्ण रूपमा कामविहीन भएका छन् । अन्य श्रमिकलाई रोजगारदाताले काममा लगाएको वा कोरोना सङ्क्रमण भएका कारण क्याम्प क्वारेन्टाइनमा राखेको देखिएको छ । जिफन्टले विभिन्न मुलुकमा क्रियाशील जिफन्ट सहयोग समूहलाई परिचालन गरेर प्रवासी श्रमिकका बीच गरेको द्रुत अध्ययनमा मलेसिया, कतार, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत १९ हजार ५७१ जना नेपाली श्रमिक सहभागी थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्