Logo

चौरजहारी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग



सुर्खेत, जेठ १५ । कर्णाली प्रदेशका मानवअधिकारकर्मी तथा नागरिक सङ्गठनले रुकुमपश्चिमको चौरजहारीस्थित अन्तरजातीय विवाहको सिलसिलामा कुटपिट गरी हत्या गरेको घटनाको अनुसन्धान गरी संलग्न सबैलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

नागरिक सङ्गठनले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसमक्ष माग गरेका हुन् ।

चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मा तथा उनका साथमा गएका युवाको समूहमाथि गाउँलेले आक्रमण गरेका थिए । नवराजसहित तीन जनाको शव फेला परेको छ भने चार जना अझै बेपत्ता छन् । वडाध्यक्षसहितको सहभागितामा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी दोषी जोसुकै भए पनि कारवाही गर्नुपर्ने अधिकारकर्मीको माग छ ।

नागरिक सङ्गठनहरुले घाइतेको उपचार तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न समेत प्रदेश र सङ्घीय सरकारसमक्ष अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ तत्कालीन व्यवस्थापिका संसद्बाट छुट्टै कानून पारित भएको जेठ १० गते अर्थात् दलित समुदायले उत्सव मनाउने दिनमा सामूहिक प्रकृतिको हत्याको घटनाले सिङ्गो मुलुकलाई स्तब्ध बनाएको छ ।”

विज्ञप्ती जारी गर्नेहरुमा उच्च अदालत बार एशोसिएसन सुर्खेत, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश, आवाज, कर्णाली प्रदेश दलित अधिकार सञ्जाल, समाज जागरण केन्द्र (स्याक), सुन्दर नेपाल संस्था, मानवअधिकार एलाइन्स, दलित महिला सङ्घ र स्थानीय सरोकार समूह रहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्