Logo

मुहान टुंगो नलगाई महाकाली सन्धी गरी राष्ट्रघात गर्ने केपी ओली र शेरबहादुर देउवा हुन्- राजेन्द्र महतो



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टीका शीर्ष नेता राजेन्द्र महतो विगतमा नेपालको नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेट्नेलाई राष्ट्रघाती भन्न थालेका छन् । उनले विगतमा संविधान निर्माण प्रक्रिया नै गलत भएको बताएका छन् । अहिले संविधान संशोधनमा नक्शामात्र नभई जनताको विषयपनि समावेश गर्नुपर्ने उनको जोड छ । महतोसँग एनआरएन रेडियोको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः
संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको चाहनाअनुसार काम किन भएन ?
संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी नेपाली जनता आयौं । प्राप्त पनि गर्यौं । तर, यसको उपभोग, मजबुती, कार्यान्वयन चाहिं सही ढंगले गर्न सकिएन । यो चाहिं दुखद् पक्ष हो । जसरी हिजो नेपाली जनताले आशा र विस्वासका साथ संघीय लोकतानित्रक गणतन्त्रका लागि लडे । हिमाल, पहाड र तराईका जनताले यसको उपलब्धी र प्रतिफल पाउनुपर्ने थियो, त्यो पाउन सकेनन् ।
तपाईंहरु पनि सत्तामा जानुभएको थियो अनि जनताले त्यो प्रतिफल किन पाएनन् त ?
पहिलो कुरा संविधान निर्माण नै गलत प्रक्रियाबाट भयो । त्यो संविधानमा सम्पूर्ण नेपालीको आकांक्षालाई समेट्न सकिएन । जसरी संघीय आधारमा संविधान बनाइयो । त्यसमा जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, उत्पीडित वर्ग, समुदाय सबैले आ–आफ्ना आकांक्षाहरु राख्न खोजेका थिए । यसरी विषयहरु उठाइएको थियो त्यसलाई संविधान बनाउने बेलामा रद्दिको टोकरीमा फालियो । र, एउटा नसलीय चिन्तनको आधारमा संविधान निर्माण गरियो । त्यहाँबाट नै जुन विश्वासका साथ हामी लडेका, मरेका र संघर्ष गरेका थियौं । त्यसप्रति संविधान बनाउने बेलामा बेइमानी गरियो । त्यसको असर अहिले पनि परिरहेको छ ।
नेपालमा गणतन्त्र आएको यतिका वर्ष हुँदा पनि आमनागरिकले त्यसको अनुभूति गर्न पाएनन् किन ?
त्यो आन्दोलनमा म स्वयम पनि थिएँ । कांग्रेस, एमाले, माओवादी पनि थिए, साथै अन्य दलहरु पनि सहभागी थिए । हामी सबै एकजुट भएर लडेका हौं । त्यतिबेला मूख्य पार्टीहरुलगायत सबैले भनेका थिए, ‘अब यो देशमा कुनै पनि वर्ग, समुदायमा विभेद हुँदैन’ भनेर । त्यसमा मधेसी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, उत्पीडित वर्ग कसैप्रति पनि विभेद हुँदैन भनेकै हो । त्यतिबेला हामी सबैले पहिला संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्छौं अनि सबैको अधिकार स्थापित गर्छौं भनिएको थियो । तर, संविधान बनाउने बेलामै व्यइमानी भइगयो । त्यसपछि फेरि हामीले आन्दोनल ग¥यौं । त्यो आन्दोनलपछि पनि जसरी राज्यले सुन्नुपर्ने थियो त्यो पनि गरेन । परिणाम स्वरुप यो देशमा राम्रो संविधान बन्न सकेन ।
राम्रो संविधान बनेको छ, यसलाई सबैले स्वीकार्नुपर्छ, संशोधनको आवश्यकता छैन भन्नेहरु पनि छन् ?
यही चिन्तन र सोचबाट यो मुलुकमा ७० वर्षमा यो सातौं संविधान बनेको हो । बीच–बीचमा धेरै छोटा संविधानहरु बने गए । दुनियाँमा यस्तो काम कुनै पनि देशमा भएको छैन । अमेरिका विश्वको सम्पन्न राष्ट्र हो । त्यहाँ अढाई सय वर्षसम्म एउटा संविधानबाट काम चल्यो । र, विश्वकै सम्पन्न राष्ट्र बन्यो । हाम्रो छिमेकी राष्ट्र भारत र चीनमा ६५ वर्षसम्म एउटा संविधानबाट काम चल्यो । पछि त्यो संसोधन भएर सम्पूर्ण देशको स्वीकार्य भयो । नेपालमा भने ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्ने चिन्तन र सोच बोकका स्वार्थका केही समुदाय र वर्गले दलितलाई देखाएर त्यसको आधारमा संविधान बनाए । तर, त्यो सबैको संविधान अहिले पनि बन्न सकेको छैन । त्यो सत्य कुरा हो । पहाडका जनजाति, मधेसी, थारु, उत्पीडित, शोषित, पीडित जनता अहिले पनि संविधानमा आफ्नो अधिकार र पहिचान खोजिरहेका छन् । देशको मूल कानुन नै त्रुटीपूर्ण भएपछि त्यसको असर सबै ठाउँमा पर्छ । हिजो कांग्रेस, एमाले, माओवादीका नेताहरुले राम्रो संविधान बनाउँछौं भनेका थिए । यी सबै मिलेर यो संविधान बनाएका त हुन् नि ।
सबै मिलेर संविधान बनाएका हुन् त्यतिबेला तपाईंहरु बाहिरनुभयो आज आएर त्यो संशोधनको बहस शुरु भएको छ, अहिले सीमानाको कुरालाई लिएर राष्ट्रियतामा जोडेर संशोधन प्रस्ताव आएको छ, त्यसलाई संसद्ले पारित गर्छ ?
राष्ट्रियताको मामलामा एकता हुनैपर्छ, दुईमत हुनै भएन । राष्ट्रियताको विषयमा त कसैले केही भन्ने सवाल नै छैन ।
संसदमा मतदान हुँदा तपाईंहरु त्यसको पक्षमा विपक्षमा हुुनुहुन्छ ?
जब कुनै पनि विषयलाई लिएर संविधान संशोधन प्रस्ताव आउँछ । त्यतिबेला हाम्रो प्रश्न उठिहाल्छ । यो संविधान बनाउने बेलामा नै त्रुटीपूर्ण ढंगले बनाइयो । अहिले संशोधनको कुरा उठेको छ, त्यो हामीले उठाइरहेको विषय हो । सय करोड मानिसले कुर्बानी दिएको विषय हो । त्यसमा मधेसी, जनजाति, थारु, मुस्लिम, उत्पीडित, अल्पसंख्यक सबैले लडिरहेका छन् संविधान संशोधनका लागि । अहिले संशोधनको विषय उठेको छ भने ती जनताले खोजेको संशोधनको विषयलाई ल्याउनुपर्छ । ती जनताले उठाएको संशोधनको विषयलाई नल्याई यो संशोधनको कुरा उठाउनु बेकार छ । त्यसैले यदि संविधान संशोधन गर्ने हो भने जनताको सवाल पनि राष्ट्रिय विषय हो । राष्ट्र, राष्ट्रियता भनेको भुमिसँगसँगै जनता पनि हुन्छ । भुमिको समस्या हामीसँग छन् त्यसको समाधानको लागि लाग्नेमा कुनै विमती नै भएन सम्पूर्ण नेपालीको लागि । तर, संविधान संशोधनको विषय त्यो प्याकेजमा गर्नुपर्छ ।
प्रधानमन्त्रीले त सर्वदलीय बैठकमा अहिले प्याकेजको कुरा नगरौ भन्नुभयो नि ?
त्यो त हुनै सक्दैन । संविधान संशोधन गर्दा हामीले उठाएको विषय ल्याउनैपर्छ । जो जनताले खोजेका छन् । मधेसी जनताले उठाएको पनि राष्ट्रिय सवाल नै हो । संशोधनको कुरा गर्दा त्यसलाई पनि सम्वोधन गर्नुपर्छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा बनाइसकेपछि निशाना छाप बनाउन त संविधान संशोधन गर्नुपर्यो नि ?
त्यो त यी राष्ट्रघातीहरुले के के गरे, के के ल्याए । त्यो नेपालमा लोडसेडिङ आएजस्तै आउने र जाने हो नेपालको भूमि ? नेपालको भूमि भनेको त नेपाली जनताको आत्मा हो । हिजो जसरी नेपालको नक्सामा नेपालको भूमि हटेको छ भने त्यो कसले हटाएको ? यिनै राष्ट्रघातीहरुले हटाएको होइन ? हिजोको नेपालको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा किन भएन ? कसले हटाएको ? त्यो भूमि हिजो कुन राष्ट्रघातीले हटायो ? नेपालको त्यो भूमिका वर्षौंदेखि अर्को देशले बाटो बनाउँदा यी राष्ट्रघातीहरु कहाँ कानमा तेल हालेर सुतिरहेका थिए ? अनि अहिले आएर त्यो कुरा गर्ने ? यी नसलीय चिन्तन बोकेका राष्ट्रघातीहरु खोक्रा राष्ट्रवादका नारा दिइरहेका छन् । यो विषयमा अहिले नेपाली जनतालाई गुमराहमा राखिएको छ । आफ्नो देशको भूमि नक्साबाट हटाउने काम कसले गर्यो ? हिजो नेपालको नक्सा छाप्दा नेपाल सरकारले छापेको होइन ? अरुले छापिदिएको हो ? त्यसैले विगतमा यिनीहरुले नै राष्ट्रघाती काम गरे । अहिले पनि राष्ट्रघाती काम गरिरहेका छन् । अहिले पनि सीमा र जनता दुवै लिएर हिँडेर राष्ट्रिय सहमति बनाउनुपर्ने होइन ? यो सिमाविवाद मिलाउन हिमाल, पहाड, तराईका सम्पूर्ण जनताको भावनालाई समेटेर अगाडि जानुपर्ने होइन ? अहिले पनि यी राष्ट्रघातीहरु देश र जनतालाई छोडेर एकलौटी ढंगले जान खोजेका छन् त्यो हुँदैन । यिनीहरु जहिले पनि यस्तै गरिरहेका छन् ।

नश्लीय चिन्तन बोकेकाहरुले देश बर्बाद बनाइरहेका छन् । हिजो जसरी नसलीय चिन्तन बोकेकाहरुले एकलौटी ढंगले त्यो भूमि नक्साबाट हटाए । अहिले पनि यिनीहरु त्यही नश्लीय चिन्तन अनुसार एकलौटी ढंगले अगाडि बढिरहेका छन् । त्यसैले संविधान संशोधन गर्ने हो भने मधेसी, जनजाति, थारुहरुले उठाएको विषयलाई पनि समेटेर जाऊ । ती जनताले उठाएको कुरालाई छोडेर अहिले एकलौटी ढंगले एउटा मात्रै कुरा लिएर हुँदैन । हामीले भूमि फिर्ता नल्याउनु भनेको होइन सबै जनताको भावनालाई समेटेर राष्ट्रिय एकतासहित जाऊ र सीमाको रक्षा गर भनेको ।
त्यसोभए प्याकेज विना संविधान संशोधनमा तपाईंहरुको सहमति हुँदैन ?
प्याकेजमा गएन भने सम्पूर्ण देशको भावना नै जाँदैन नि । संविधान संशोधनको लागि सम्पूर्ण देशवासीको भावना लिएर जानुपर्छ । त्यसमा हिमाल, पहाड, तराई सबैतिरका जनताको भावना समेटिएको हुनुपर्छ । किन भने यो विषय संविधान संशोधनसँग जोडिएकाले सबैको भावना समेटिने गरी राष्ट्रिय एकता बनाएर जाऊ भनेको हो ।
सत्तारुढ दल र कांग्रेसले मानेन भने के हुन्छ ? उनीहरु त अहिले प्याकेजमा जान सकिँदैन भनेर ब्याक भइराखेका छन् नि ?
आफ्नो ‘गोरुको बाह्रै टक्का’ गरेर यिनीहरुले त्यो भूमि ५० वर्षदेखि बेचेर आएकै हुन् नि । फेरि पनि त्यही गर्दैछन् । अहिले पनि राष्ट्रिय सहमति र एकता भएर गएन भने फेरिक मिलाउँदैनन् । फेरि कमजोर भएर आउँछ । उनीहरुले फेरि एउटा बहाना बनाउँछन् । नक्सामा छप्दैमा नेपाली जनताले आफ्नो भूमि पाउँछन् ? संशोधन गरेर लोगोमा राख्दैमा पाउँछन् ? त्यसको लागि सबैको भावनालाई समेटेर राष्ट्रिय एकतासाथ जानुपर्छ । नत्र खाली खोक्रा राष्ट्रवाद सिवाय केही हुँदैन ।

हिजो महाकाली सन्धि गर्दा केपी ओली कहाँ जानुभएको थियो ? आजभन्दा २०, २५ वर्षपहिला जसरी महाकाली सन्धि गरियो त्यो बेलामा त्यो नदीको मुहानको कुरा उठाउनुपर्दैन ? त्यो सन्धि गर्दा केपी ओलीको समर्थनमा भएको होइन ? शेरबहादुरले सही गरेको होइन ? त्यसैले हिजो राष्ट्रघात गर्ने यिनीहरु अनि अहिले हामीमाथि सवाल उठाउने ? भूमि मात्रै राष्ट्रियता होइन जनता पनि हो । मधेसी जनता, दलित, मुस्लिम, थारु, जनजाति पनि जनता हुन् तिनलाई छोडेर राष्ट्रियता बन्दैन ।

महाकाली नदी

यदि संविधान संशोधन विधेयक टेबुल भयो भने तपाईंहरु पक्षमा कि विपक्षमा ?
नसलीय चिन्तनबाट मात्रै हुँदैन । राष्ट्रियताको सवालमा जनता पनि राष्ट्रियता हो । त्यसैले जनभावनालाई पनि प्याकेजमा लिएर जाओं । जनता र भूमि एकैसाथ लिएर गयौं भने बल्ल हामी बलियो हुन्छौं । यो समस्याको समाधान वार्ताबाटै हुने हो । हामीले लडाईं गरेर समाधान हुँदैन । जब वार्ताबाट समाधान हुन्छ भने त्यसमा सम्पूर्ण जनताको राष्ट्रिय एकता चाहिन्छ । अनि मात्र वार्ता बलियो हुन्छ ।
त्यसो नगर्दा वार्ता बलियो हुँदैन ?
त्यो भएन भने त फेरि राष्ट्रघात भइहाल्छ नि । जसरी हिजो ५० औं वर्षसम्म त्यो ठाउँलाई नक्साबाट निकालिएको थियो । अनि अहिले पनि यिनीहरुले विभिन्न बहाना बनाएर यो भएन, ऊ भएन भन्ने त हो नि । त्यसै राष्ट्रिय एकता र सहमति गर्न कुनै पनि बहाना बनाउनुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्