Logo

सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको सङ्ख्या २० पुग्यो



लम्की, १५ जेठ : धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो ।

नयाँ सङ्क्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गाैलीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुमध्ये एकजना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए । त्यस्तै दार्चुलामा पनि एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमितमध्ये दुईजनाको टीकापुर र एकजनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना सङ्क्रमित चैत १४ गते फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नं ५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो । कैलालीमा दुई महिनाको अवधिमा २० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित पाँचजना उपचारपछि घर फर्किएका छन् ।

सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि स्थानीय तहले सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी कार्य जारी राखेका छन् । “सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षण शुरु भएको छ”, जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भन्नसभयो, “प्रहरीको सहयोगमा सङ्क्रमितसँग जोडिएकाको खोजी भइरहेको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टिनमा बस्न लगाएका छौँ ।” दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जानकीसँग जोडिएका पालिका टीकापुर, जोशीपुर, लम्की चुहामा उच्च सतर्कता अपनाइएको छ ।

स्थानीय पालिकाले भारत तथा अन्य जिल्लाबाट आउनेको उद्धारमा समेत खटेका छन् । “हाम्रो पालिकामा ६०० भन्दा बढी नागरिक क्वारेन्टिनमा राखेका छौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “१३ वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरिसक्यौँ, अझै अटेका छैनन् । दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।” सङ्क्रमणबाट बच्न सरकारमात्र नभई नागरिकसमेत सचेत हुनुपर्ने उहाँको भनाइ छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्