Logo

विशाल ग्रुपको तर्फबाट स्वास्थ्य मन्त्रालयलाई ५०० थान पीपीई, २०० थान आईआर थर्मोमिटर र नौ हजार थान एन ९५ सहयोग



१५ जेठ, काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला, यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ ।

भीजी फाउन्डेसनले माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललागयत अन्य उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो ।

‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

यो विषम परिस्थितिमा विशाल ग्रुप देशको साथमा छ र आफ्नो स्रोत र शिपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको जनाएको छ ।

विशाल ग्रुप कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्दै आएको छ । ग्रुपले आम नागरिकलाई सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न पनि अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्