Logo

रुकुम घटनामा वेपत्ता पाचौंको शव भेटियो



पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिवार बेलुका भएको घटनामा परेका पाँच जनाको शव भेटिएको छ । बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव बिहिबार मध्यान्न भेरी नदी किनारमा फेला परेको हो । भेरी नगरपालिका ४ का सन्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिकाको कालाभीरनजिक भेटिएको खोजी कार्यमा लागेका आफन्तले बताएका छन् ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदि किनारमा भेटिएको थियो । आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका वडा नंं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । त्यसैगरी भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो । यस संगै उक्त घटनामा संलग्न ५ जनाको शव भेरि नदिमै फेला परेको हो ।

उनको शव भेटिएपछि अब बेपत्ता हुनेको संख्या १ रहेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही बेपत्ता रहेका छन् । उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि घटनास्थल नजिकबाट बेपत्ताको खोजी कार्यमा संलन रहेको बताईएको छ ।

घटनामा संलग्न थप ६ जना पक्राउ

उक्त घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले बताए ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल रहेका छन् ।

भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षिय मल्ल थरकि युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्