Logo

बागलुङका पत्रकारको कोरोना बीमा



काठमाडौँ, १६ जेठ । कोरोना सङ्कटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो । जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा रु एक लाखको बीमा गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताएका छन् । बीमाका लागि चाहिने कागजात र ५२ जनाको सूची बिहीबार इन्स्योरेन्स कम्पनीलाई बुझाइएको उनको भनाइ छ । पिसिआर जाँचबाट कोरोना सङ्क्रमण पुष्टि भएमा पत्रकारले तत्कालै रु एक लाख प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ ।

सम्झौता भएको १५ दिनपछि मात्र बीमा लागू हुनेछ । कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिएका पत्रकारको जोखिम न्यूनीकरणका लागि बीमामा सहयोग गरिएको प्रतिष्ठानका सदस्य गोपाल पौडेलले बताएका छन् । प्रतिष्ठानले बीमाको प्रिमियम रकम प्रतिव्यक्ति रु एक हजारका दरले कम्पनीलाई बुझाएको छ । शाखा अध्यक्ष दिल शिरीषले महासङ्घमा आवद्ध सबै पत्रकारको कोरोना बीमा गरिने बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्