Logo

झापाको एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित



झापा, १६ जेठ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड–१९ का संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि ४८ सक्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

उनले संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएको बताए । उनले भने, ‘जति पनि संक्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन् । सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय संक्रमित हुनबाट जोगियो ।’

उनका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिर्पोट संक्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको उनले बताए । क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए । झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये दमक र बाह्रदशीका एक–एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए ।दृष्टिबाट /File photo



प्रतिक्रिया दिनुहोस्