Logo

एमसीसी र नक्शा संसदबाट पारित हुन्छ- ज्ञानेन्द्रबहादुर कार्की, पूर्व अर्थमन्त्री



काठमाडौं, १६ जेठ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बजेटको चिरफार गरेका छन् । उनले देशको नक्शा संसदबाट पारित गर्न काँग्रेसले लिने निर्णयमा कुनै शंका गर्नुनपर्ने स्पष्ट पारेका छन् । उनले एमसीसी संसदबाट पारित हुने समेत बताएका छन् । पूर्वमन्त्री कार्कीसँग ऋषि धमलाले गरेको कुराकानीः
अहिलेको बजेट राम्रो, नराम्रो, कोरोना नियन्त्रणका लागि सफल कि असफल ?
बजेटको समीक्षा गर्दा विगतकै निरन्तरता देखिन्छ । अहिलेको जुन असामान्य परिस्थिति छ, त्यसलाई आत्मसात गरेर बजेट आएको देखिँदैन । राम्रो, नराम्रो भन्दा शब्द छनोटहरु धेरै राम्रा छन् । तर, यो बजेट जसरी मानव स्वास्थ्यको संरक्षण गर्नुपर्ने त्यसपछि गएर रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई पुनर्बहाली गर्नेपर्नेमा चुकेको छ ।
अहिलेको बजेटमा स्वास्थ्योपचार र पूर्वाधारमा त धेरै रकम छुट्ट्याइएको छ नि ?
बजेटमा स्वास्थ्यलाई जुन किसिमले ध्यान दिनुपर्ने हो । त्यसमा ७ प्रतिशत पनि पु¥याइएको छैन । अहिले कोरोनाको जुन प्रभाव विश्वव्यापी रुपमा छ । नेपालमा जसरी संक्रमण फैलिँदै गएको छ । यसलाई जसरी बजेटले महत्व दिनुपर्ने हो त्यो दिएको छैन ।
बजेट कुन–कुन क्षेत्रमा चुकेको छ त ?
यसअघि स्वास्थ्यको क्षेत्रमा सामान्य अवस्थामा पनि हामीले रामै्र बजेट छुट्टएका थियौं । तर, अहिलेको असामान्य अवस्थामा स्वास्थ्य क्षेत्रलाई जसरी ध्यान दिनुपर्ने हो । त्यो ध्यान नदिएको कुरा अहिले जसरी ७ प्रतिशत पनि बजेट नछुट्टइएन त्यसले दिनुपर्ने जति ध्यान दिएको देखिँदैन ।
आजको दिनमा यो सरकारले ल्याएको बजेट उपयुक्त छैन ?
अहिले जनता रोग र भोकले आतंकित छन् । यी दुवैबाट जागाउनु सरकारको दायित्व हो । त्यसमा सरकारको ध्यान पूर्ण रुपले केन्द्रित हुनुपर्छ ।
त्यसोभए यो बजेट मितव्ययी छ भन्न सक्नुहुन्छ ?
यो विगतकै बजेटको निरन्तरता छ ।
त्यसोभए यो बजेटमा कोरोना नियन्त्रणका लागि नयाँ कुरा केही छैन ?
बिगतमा १३ खर्ब १५ अर्बको बजेट ल्याइएको थियो । यो तेस्रो बजेट हो, अहिलेका अर्थमन्त्रीजीको । अनुकूल परिस्थितिमा पनि त्यो बजेट खर्च हुन सकेन । त्यसबेला ११ खर्ब १० अर्ब मात्रै खर्च भएको छ । दोस्रो बजेट १५ खर्ब ३२ अर्बको आयो । त्यसमा १३ खर्ब ५८ अर्ब मात्रै खर्च भएको छ । र, अहिले १४ खर्ब ७४ अर्बको बजेट आएको छ । यो बजेटमा सबै कुराहरु भनिएका छन् । तर, ती भनिएका कुराहरु गर्ने र त्यो अनुसार बजेट अगाडि बढ्ने र खर्च हुने अहिलेको अवस्था छैन । त्यसैले अहिलेको बजेट कोरोनाबाट जनतालाई मुक्त गर्न, रोजगारी सिर्जना गर्न, राहत उपलब्ध गराउन र अर्थतन्त्रलाई पुनर्उत्थान गर्न केन्द्रित हुुनुपर्ने हो । त्यस दिशामा केन्द्रित हुन सकेको छैन ।
अर्थतन्त्र पुर्नउत्थानको लागि तपाईंहरुले पनि माग गर्नुभएको थियो, व्यापारीहरले पनि विशेष राहत प्याकेजको माग गरेका थिए, ती कुराहरु बजेटमा देखिएन हो ?
अहिलेको आवश्यकतालाई सबैले औल्याएका थिए । हामीले पनि औल्याएका थियौं । तर, त्यस किसिमको फोकस बजेट आएको छ । जस्तो कृषिक्षेत्रमा धेरै कुराहरु गरिएको छ । दुईवटा बजेटलाई तुलना गरेर हेर्ने हो भने विगतमा पनि यस्तै किसिमका कुराहरु आएका छन् । तर, त्यो कृषिले परिणाम ल्याउन सकेको छैन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको छ, त्यसमा थप दुई लाखलाई रोजगारी दिने भनिएको छ नि ?
प्रधानमन्त्री रोजगार कार्यक्रममा विगतको भन्दा अहिले बजेट बढाइएको छ । तर, विगतमा प्रधानमन्त्री रोजगारी कार्यक्रममा निराशाजनक परिणाम आएको छ । र, त्यो पैसाको चाहीं दुरुपयोग भएको छ । त्यो पैसा केवल आफ्ना कार्यकर्तालाई पालिएको छ । अहिले पनि त्यस्तै हुने हो भने यसले समाजमा अर्कैखालको दुष्परिणाम ल्याउन सक्छ ।
संसद् विकास कोषमा रकम घटाइएको छ, तपाईंहरुले अब चार करोड मात्रै पाउनुहुने भयो, कांग्रेस त्यसको पक्षमा विपक्षमा ?
यसको पक्षविपक्ष भन्दा पनि संसद् विकास कोषका निमित्त सरकारले जुन रकम छुट्ट्याएको छ । संसद् विकास कोषलाई अहिले जसरी ब्याख्या, अपब्याख्या गरेको छ । त्यो संसद् कोष मुलुककै निमित्त खर्च भएको छ । यसको बारेमा म धेरै चर्चा गर्न चाहन्न । तर, यो समानुपातिक रुपले १६५ निर्वाचन क्षेत्रमा खर्चहरु भएको छ । केही दुरुपयोगहरु भएको होला त्यो आफ्नो ठाउँमा छ । यो सांसद्ले खल्तीमा राखेर बाड्ने पैसा होइन । त्यहीं क्षेत्रको विकासको लागि आएको पैसा हो । त्यसकारण यसमा धेरै टिप्पणी गर्नुछैन ।
अहिले जनता भोकमरीमा छन् खान पाएका छैनन् अनि तपाईंहरुलाई किन पैसा चाहियो ?
जनतालाई तपाईंले भनेका कुराहरुबाट मुक्ति दिनुपर्छ । किन भने सरकार सबैको अभिभावक हो । यस्तो विसम परिस्थितिमा सरकारले अविभावकीय भूमिका निर्वाह गर्नुपर्छ । त्यसमा सरकारको ध्यान जाओस् भनेर हामीले भनिराखेका छौं । यो बजेटमा पनि हामी विरोधका लागि विरोध गरेका होइनौं । अहिले जुन चुनौति छ त्यसलाई अवसरको रुपमा परिणत गर्ने किसिमको बजेट आएन भन्ने कुरा हामीले राखेका हौं ।
बजेटमा नयाँ कुरा आएन, महत्वकांक्षा भयो भनेर तपार्ईंहरुले भनिरहँदा, पहिलोपटक अर्थमन्त्रीले बजेटको आकार त घटाउनुभयो नि ?
गतवर्षको पनि बजेटको खर्च चाहीं १३ खर्बमा झारिएको छ । अहिले पनि बजेट १४ खर्बको छ । यसमा पनि १३ खर्ब पनि खर्च हुने अहिलेको अवस्था छैन । अहिलेको १४ खर्ब पनि खर्च हुने अवस्था देखिँदैन । त्यसैले हुनाले अहिलेको बजेट पहिलाकै निरन्तरता हो ।
त्यसोभए एमसीसी पनि पारित गर्न अर्थमन्त्रीले संकेत गर्नुभएको छ, प्रशारण लाइनको लागि बजेट छुट्ट्याउनुभयो नि ?
एमसीसी त नेपालकै निमित्त हो । देशकै निमित्त भएकाले नेपालले कदम चाल्नैपर्छ नि ।
त्यसोभए संसद्बाट एमसीसी पारित हुन्छ ?
त्यो त सरकारले ल्याउनुप¥यो ।
तपाईंहरुको दृष्टिकोण के हो ?
म त यसको हस्ताक्षरकर्तै हो । यो शेरबहादुर देउवाको नेतृत्वमा सरकार भएको समयमा एमसीसी नेपालमा सम्झौता भएको हो । यसलाई सरकारले ल्याउनुप¥यो । सरकारले ल्याइसकेपछि संसद्बाट पारित हुन्छ । यसका निमित्त नेपाल कांग्रेसको केन्द्रीय समिति, नेपाली कांग्रेसको संसदीय दल र हाम्रा पार्टी सभापतिले यसलाई तुरुन्त पारित गर्नुपर्छ भनेर भनिरहनुभएको छ ।
तपाईंहरु हस्ताक्षरकर्ता हुँ भनिरहँदा भीम रावल, झलनाथ खनालहरुले यो राष्ट्रघाती छ, सैन्य गठबन्धन अन्तर्गत हो भनिरहेका छन् अनि तपाईंले कसरी राम्रो छ भन्नुभयो ?
यसको बारेमा अलिकति वृहत रुपमा छलफलै गरौं । यसलाई अत्यन्तै अतिरञ्जित गरिएको छ । यो नितान्त राष्ट्रहितमा छ । र, नेपाल कहिल्यै पनि, कुनै पनि सैन्यगठबन्धनमा लाग्ने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौं । इण्डोप्यासेफिक स्टाटेजि जुन भनिने गरिएको छ, त्यो र एमसीसीको कुनै साइनो छैन ।
इण्डोप्यासेफिक अन्तर्गत यो बजेट आएको होइन ?
होइन ।
त्यसोभए एमसीसीको इण्डोप्यासेफिक प्यासेफिकसँग कुनै सम्बन्ध छैन ?
छैन । इण्डोप्यासेफिकको आधारमा आउनुभन्दा अगाडि नै एमसीसीको सम्झौता भइसकेको कुरा यहाँ मान्छेहरुले बिर्सिएका हुन् कि अथवा त्यसै यसलाई जोडिएको छ । त्यसरी जोडिनु उचित कुरा होइन ।
तर, अमेरिकाले नेपाललाई सैन्यगठबन्धनमा लानको लागि हामीले एमसीसी दिएको हो भनेको छ भनेर धेरैले तर्क गर्दछन् नि तपाईंले झलनाथ खनालको कार्यदलको रिपोर्ट पनि पढ्नुभयो होला ?
मैले हेरेको छु ।
उहाँले त प्रष्ट रुपमा भन्नुभएको छ नि यो राष्ट्रघाती हो भनेर ?
उहाँले केलाई राष्ट्रवाद केलाई राष्ट्रघाती भन्नुहुन्छ । त्यो उहाँसँगै सोध्नुहोला । म तपाईंलाई भन्छु, यो चाहीं राष्ट्रको हितमा छ । नेपाली जनताको हितमा छ । यो एमसीसी एक रातमा सम्झौता भएको प्रोजेट होइन । यसको निमित्त खलराज रेग्मीदेखि बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीहुँदै शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारमा आएर यो पास भएको हो । यसको सम्बन्धमा म वृहत रुपमा संसद्मै आफ्ना कुराहरु राख्ने छु ।
अब नेपाली कांग्रेसले संविधान संशोधको पक्षमा आफूलाई उभ्याउँछ ?
नेपाली कांग्रेस संविधान संशोधनेको पक्षमा छ । रहन्छ र रहनुपर्छ ।
त्यसोभए कांग्रेसको केन्द्रीय समिति बैठकमा संशोधनको पक्षमा सर्वसम्मत निर्णय गर्छ ?
यो नेपाली जनताको आत्मा स्वाभिमान र गर्वको विषय हो । यसबाट कुनै पनि नेपाली पछि हट्दैन, र हट्नु पनि हुँदैन ।
संविधान संशोधनको विषयमा कांग्रेसले प्याकेजको कुरा गरेर ब्याक हुने हो कि भन्नेहरु पनि छन् नि ?
भन्नेहरुले के के भन्छन् । तर, नेपाली कांग्रेसले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौकिताको निमित्त सधैं अग्रसरता लिएको छ । अहिले पनि लिन्छ र भविष्यमा पनि लिने छ ।
त्यसोभए अहिले आएको संविधान संशोधन विधेयकमा कांग्रेसले सर्वसम्मत निर्णय गर्छ कुनै शंका नगरे हुन्छ हो ?
यसमा कसैले कुनै शंका नगरे हुन्छ ।
यसबारे कांग्रेसभित्र जनमत विभाजित हुँदैन ?
यस्तो विषयमा कांग्रेसमा कसरी जनमत विभाजित हुन्छ भनेर मान्छेले सोच्न सक्छ । त्यो बारेमा मैले कल्पना पनि गर्न सकेको छैन ।
तर, नेतृत्वलाई यो प्रस्तावबाट कांग्रेस पछि हट्नुपर्ने भन्ने दबाब छ रे नि ?
त्यो त ऋषि धमलालाई नै थाहा होला, मलाई त थाहा छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्